मुख्यमन्त्रीले भने: प्रहरीलाई गोली लागेको होइन, पाँच इन्चको काँटीचाहिँ बिझेको


फाइल फोटो

साउन ३ सुर्खेत

प्रा. डा. गोविन्द केसीलाई लिन जुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी पक्षबाट त्यहाँ कुनै धरपकड नभएको दाबी गरेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहित जुम्लाबाट हेलिकोप्टरमा केसीलाई सुर्खेत ल्याएपछि जुम्लामा भएको घटना लुकाएका छन् ।

सुर्खेत विमानस्थलमा कुराकानी गर्दै शाहीले मिडियामा आएजस्तो जुम्लामा झडप नभएको बताए । झडपका क्रममा घाइते प्रहरी जवान पनि गोली लागेर नभई छातीमा किला बिझेको बताएका छन् ।

‘बिहानैदेखि सामान्य झडप चाहिँ भएकै हो, हामीलाई समेत प्रवेश गर्न दिइएन, अस्पतालमा छिर्न बल प्रयोग गर्नुपर्‍यो’ उनले भने, ‘तर घाइते भएका प्रहरी जवानलाई गोली लागेको होइन, उनको छातीमा पाँच इन्चको किला बिझेको हो । उपचार भइरहेको छ ।’उनले जुम्लामा भएको झडपमा एकपनि गोली नचलेको दाबी गरे । अन्नपूर्णपोष्टबाट