वर्षौंपछि विकट गाउँमा बिजुली


६ साउन सिम्ता (सुर्खेत)

दुइवर्ष अघिसम्म गाउँमा बिजुली ल्याउने चर्चा गर्दा कसैले पत्याउँदैन्थ्ये। स्थानीयको प्रश्न हुन्थ्यो,‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन्। बरु विद्युत प्राधिकरणले बल्लतल्ल गाडेका बिजुलीका पोल पनि डेढ वर्षसम्म अलपत्र नै। त्यसपछि त झन् गाउँलेले बिजुलीबत्ती बाल्ने सपना नै मारिदिए।

सुर्खेतको सिम्ता गाउँपालिका अन्तर्गत विकट गाउँ आलीमा शुक्रबार बिजुलीबत्ती उद्घाटन हुने खबर गाउँभरी फैलियो। गाउँमा बिजुलीबत्ती बाल्ने सपना मारेर बसेका अधिकांश बासिन्दाले त्यसलाई हल्लाका रुपमा लिए, धेरैले पत्याएनन्। तर जब कर्णाली प्रदेशसभाका सांसद ठम्बर विष्टले वडा कार्यालयमा रहेको स्विच थिचे, तब बिजुली बल्यो। नजिकैबाट नियाँलिरहेकी ४३ वर्षीया हरिकला बस्नेतले भनिन्,‘लौ बत्ती त बल्यो, हाम्रो गाउँमा पनि बिजुली बल्ने रहेछ।’ वर्षौंको प्रतिक्षापछि गाउँमा पहिलोपटक झलमल्ल बिजुली बलेको देखेपछि उनमा खुशीको सीमा नै रहेन। त्यही खुशी साट्न उनले वरपरका छिमेकीहरुलाई पनि बत्ती बलेको हेर्नका लागि हारगुहार नै गरिन्।

सिम्ता गाउँपालिका–५ को वडा कार्यालयबाट उद्घाटन भएसँगै स्थानीयले वर्षौपछि गाउँमा बिजुलीको उपभोग गर्ने अवसर पाएका छन्। बजेट अभावमा विद्युत प्राधिकरणले गाउँमा पोल गाडेको भए पनि लाइन बिस्तार हुन सकेको थिएन  तर गाउँपालिकाले अघिल्लो वर्ष तीन करोड रकम बिनियोजन गरेर विद्युत विस्तारलाई तीव्रता दिएको थियो। निरन्तरको प्रयासपछि आलीमा शुक्रबारबाट बिजुली बलेको हो। दियालो र टुकीको भरमा अन्धकार छल्दै आएका स्थानीयमा पहिलो पटक गाउँमा बिजुली पुगेपछि खुशीयाली छाएको छ। स्थानीय प्रेम बस्नेतले भने,‘आज हाम्रो सपना पूरा भएको छ, हामी वर्षौंपछि अन्धकारबाट मुक्त भएका छौं। उज्यालोसँगै गाउँमा समृद्धिको प्रवेश भयो, अब गाउँको जीवनस्तरमा पनि सुधार आउनेछ।’

आलीमा बिजुली विस्तार भएसँगै अब विकट मानिने सिम्ताका सबै वडाहरुमा बिजुली पुर्‍याउने गरी विद्युत गुरुयोजना निर्माण गरिएको छ। गाउँपालिकामा अधिकांश बस्तीहरु छरिएर रहेका छन्। करिब चार हजार घरधुरीमा अबको चार वर्षभित्र बिजुली पुर्‍याउने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ। ‘हामीले सिम्ता उज्यालो कार्यक्रम सुरु गरेका छौं, डेढ वर्ष लगाएर राष्ट्रिय प्रशारणलाइन जोडिएको छ’ गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने,‘गाउँमा बिजुली आउँछ भन्नेमा अहिले पनि धेरैले विश्वास गर्दैनन्, हामीले आलीमा बिजुली बालेर सुरुवात गरिसक्यौं। अन्य गाउँमा पनि पोल र तार विस्तारको काम धमाधम चलिरहेको छ, चार बर्षभित्र सबै वडाहरु झिलीमिली बनाउनेछौं।’ विद्युत विस्तारका लागि गुरुयोजना नै निर्माण गरिएको र करिब एक अर्ब बजेट लागत अनुमान गरिएको गाउँपालिकाले जनाएको छ।

‘बिजुली नहुँदा बसैभन्दा पीडित महिलाहरु थिए, बालबालिकाहरुले अँध्यारोमै पढ्नुपर्ने बाध्यता थियो’ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले भनिन्,‘कसैले नपत्याएको ठाउँमा बिजुली बलेको छ, अब गाउँबाट अन्धकार हटेको छ।’ उनका अनुसार गाउँपालिकाको लगानी र स्थानीयको जनश्रमदानबाट गाउँमा बिजुली विस्तार सम्भव भएको हो। गाउँपालिकाले हरेक वर्ष विद्युत विस्तारका लागि तीन करोड रकम विनियोजन गर्दै आएको छ। अब गाउँपालिका अन्तर्गतका काफलकोट, आग्रीगाउँ, घोरेटा, खानीखोला, काप्रीचौर र डाँडाखाली लगायतका स्थानमा विद्युत विस्तार गर्ने योजना उपाध्यक्ष शाहीले सुनाइन्। सिम्ता गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा तीन वटा विषयलाई मात्र प्राथमिकता दिएको छ। जसअन्तर्गत सिम्ता उज्यालो कार्यक्रम, सडकको पहुँचको विस्तार र जनतासँग सिम्ता गाउँपालिका रहेका छन्।

 ‘हामीले समेत सकेका थिएनौं, गाउँपालिकाले त्यसलाई सम्भव बनायो’ विद्युत प्राधिकरण सुर्खेत शाखाका प्रमुख सुरज भण्डारीले भने,‘यहाँ बिजुली विस्तार गर्न सहज थिएन, तर अब सिम्ता राष्ट्रिय प्रशारणलाइनमा जोडियो। हामी पनि यो अभियानमा सक्दो सहयोग गर्नेछौं, अन्धकारबाट सिम्तालाई उज्यालो बनाउन हाम्रो साथ रहनेछ।’

प्रदेशसभाका सांसद ठम्बर विष्टले सिम्ता उज्यालो अभियानमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। यसका लागि प्रदेश सरकारबाट बजेट उपलब्ध गराउनेगरी पहल थाल्ने उनको भनाइ छ। लामो प्रयासपछि गाउँमा बिजुली बलेपछि स्थानीय राजनीतिक दलहरु पनि हौसिएका छन्। साथै सबै वडा र वस्तीमा विद्युत विस्तारका लागि मिलेर काम गर्ने उनीहरुले प्रतिबद्धतासमेत जनाए। अन्नपूर्णपोष्टबाट