साउन १४, सुर्खेत
नेपाली कांग्रेसले सभामुख वा उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने विषयलाई अधिकांश ठाउँमा उठाइरहेको बेला कर्णाली प्रदेशमा भने पदको विषयले महत्त्व नपाउने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरू कर्णालीको समृद्धि र विकासका लागि बाधक नबन्ने बताए । ‘देशमा के भएको छ, पार्टीले के गर्दै आएको छ भन्नुभन्दा पनि हामी हाम्रो प्रदेशलाई समुन्नत, समृद्ध बनाउनुपर्छ र सरकारले बनाओस् भन्दै दबाब दिइरहेका छौं,’ उनले भने, ‘त्यसका लागि कहिल्यै सदन अवरोध गर्ने छैनौं ।’
सरकारकै कारण यसअघि संसद स्थगित भएको स्मरण गराउँदै नेता शाहीले आफूहरू सभामुख उपसभामुखको प्रसङ्गमा सदन स्थगित नगर्ने बताए । ‘हामीलाई सभामुख वा उपसभामुखभन्दा पनि विकास र समृद्धि चाहिएको छ,’ नेता शाहीले भने, ‘त्यसैले अन्यत्र जे भएपनि कर्णालीको संसद निर्वाध रुपमा चल्छ ।’ उनले कर्णालीमा सत्तापक्ष र विपक्ष भनेर आफूहरूले विकास र समृद्धिको यात्रामा कहिल्यै प्रश्न चिन्ह उठाउन नदिने बताए ।
‘कर्णाली अभावै–अभावले जेलिएको छ । अभावलाई अब सदाको लागि अन्त्य गर्ने जिम्मा हामी सबैको हो । त्यसैले सरकारले समृद्धिको योजना ल्याओस्, विकास गरोस् हाम्रो सर्मथन रहन्छ,’ उनले भने, ‘तर, विकासका नाममा विनाश गर्ने कार्य भएमा कांग्रेस हेरेर बस्दैन ।’ लोकान्तरबाट



Milan Shrestha । १४ श्रावण २०७५, सोमबार ०६:३६ बजे