गृहमन्त्री सहितको टोली जाजरकोटमा, मुख्यमन्त्री द्वारा दुख ब्यक्त


साउन २१, सुर्खेत ।

जाजरकोट जिल्लामा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको घटना प्रति दुख ब्यक्त गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शोक बक्तब्य जारी गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले शोकबक्तब्य मार्फत जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.–३, ठाँटीवजारमा अविरल वर्षासँगै आएको पहिरोमा परि एकै घरका ४ सहित ८ जनाको मृत्यु, १ जना वेपत्ता र १ जना घाइते भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै प्राकृतिक विपद्मा परि निधन भएका सवै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले पहिरोमा वेपत्ता नागरिकको खोजीकार्यलाई तिब्र बनाउन, उद्धार तथा पुनसर््थापना कार्यलाई प्रभावकारी वनाउन समेत सम्वन्धित निकायलाई निर्देशन गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारको तर्फवाट तत्कालीन राहतको लागि प्रति मृतक परिवारका लागि २५ हजार नगद, खाद्यान्न तथा आवश्यक सामाग्रि सहित आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वमा राहत टोली घटनास्थलतर्फ पठाईएको छ । पहिरोको समस्या सामाधान तथा पुनर्वासको व्यवस्थाका लागि घटनास्थलको प्राविधिक जाँच सहित सुझाव पेश गर्न प्राविधिक टोली पनि सोही राहत टोलीसंगै पठाइएको बताइएकोछ ।

माननीय मुख्यमन्त्री शाहीले जोखिमयुक्त क्षेत्रमा वसोवास गरीरहेका सवै नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाउन, सम्भव रहेसम्म सुरक्षित ठाँउमा वसाई सर्न तथा विपदका घटना हुने बित्तिकै नजिकको प्रहरी कार्यालय वा प्रदेश सरकारको हटलाईन नं. १०९६ मा सम्पर्क गर्नुहुन पनि अनुरोध गर्नुभएको छ ।