
१ भदौ दैलेख । महावुधाम
हातमा त्रिशुल बोकेर शिवको महिमा गाउँदै दैलेख सदरमुकामदेखि तीन दिनको यात्रा तय गरेर महावु पुगेका दुर्लभ कुमार बोगटीले भने “यती शान्त स्थान सायद अन्यत्र छैन होला, बुकी झार र मनमोहक ढुंङ्गा, कलकल बगेको पानी, साँच्चिकै कैलाश जस्तो छ ।”
कोहलपुरबाट तीन दिन लगायर महावु पुगेका खिम देवकोटाले भने मैले यती मनमोहक स्थान अहिलेसम्म देखेको थिएँन । पहिलो पटक पुगेका उनले महावुधामलाई सँधै भरी धार्मिक पर्यटनको गन्तब्य बनाउन सकिने बताए ।
परम्परागत रुपमा महादेव शिवको उत्पती भएको कैलाश स्थानका रुपमा प्रख्यात महाबु धाममा यो बर्ष पनि धार्मिक मेला सम्पन्न भएको छ ।
दैलेख भुर्तीका बोल्न नसक्ने जलु आचार्य ब्राहमणका छोराले ११ सय ३७ मा पाटनमा भैसी चराउन गएका बेला ढुंङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुंङ्गामा दिनहुँ दुध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्न समेत आएको किंवद्धन्ती सँगै एउटा मात्र बर मागे पुरा हुने भएकोले मानिसहरु निकै दुःख गरेर महावु धाममा पुग्ने गर्दछन् ।
दैलेखका आचार्य ब्राहमणहरुले दुधको धारा चढाउने, कालिकोटका काफ्ले बा्रहमणहरुले होमन गरेपश्चात तीलकको टिका लगाउँदै एउटा मात्र बर मागे पुरा हुने जनबिश्वास अहिलेपनि कायमै छ ।
दैलेख र कालिकोटको सिमानामा पर्ने करिब ४ हजार २ सय मिटर अग्लो भू भागमा पुग्न धार्मिक पर्यटकहरुलाई निकै कठिन हुन्छ तर पनि हरेक बर्ष मानिहरु सहजै महाबुलेकमा पुग्ने गर्दछन् । सँधै बर्ष झै यसपालि पनि भेरी कर्णाली सँगै नेपालगंज, काठमाण्डौं र भारतदेखि महावु धाममा पुजा गर्न भक्तजनहरु पुगेका छन् ।
महादेव शिवको उत्पती भएको कैलाश स्थानका रुपमा महाबुधाम प्रख्यात छ । निकै कठिन यात्रा भएपनि मानिहरु सहजै महाबुलेकमा पुग्ने गर्दछन् । कर्णाली अञ्चलको प्रवेशद्धार भनेर चिनिने महावु लेकमा धार्मिक पर्यटनको बिस्तार गर्न सकिने प्रशस्त संभावना हुँदा हुँदै पनि यातायात लगायतको समस्याका कारण अँझै यो क्षेत्रको प्रचार प्रसार हुन सकेको छैन् । दैलेखदेखि महावु स्थानसम्म सडक यातायात पु¥याउनका लागि गा्रमिण पहुँच कार्यक्रमले विगत १३ बर्षदेखि करोडौं रकम खर्च गरिसकेको भएपनि हालसम्म सहज यातायात पुग्न सकेको छैन् ।
मनले सोचेको कुरा पुरा हुने भन्दै भगवान शिवको पुजा गर्न जनै पुर्णिमाको अघिल्लो दिनदेखि लगातार तीन दिनसम्म हजारौं भत्तजनहरुले पुजापाठ गर्ने गर्दछन् ।
ढुंगाबाटै फुटेर शिव लिङ्ग बनेको स्थान अहिलेपनि जस्ताको तस्तै देख्न सकिन्छ । दैलेखको भुर्तीका आचार्य ब्राहमणहरु, कालिकोट र दैलेखका काफ्लेहरुले नै अहिलेसम्म शिव देवताको पहिलो पुजा गर्ने गर्दछन् ।
पाटन क्षेत्र निकै अग्लो भूभागमा रहेको रमणीय पाटन स्थानमा एकै छिनमा पानी फाट्ने अनि पुनः बादलले डमक्क ढाकेपछि लेकमै हराएको झै हुने गर्दछ ।
व्यवस्थापनको कमजोरी
मेलालाई व्यवस्थापन गर्ने भन्दै दैलेख र कालिकोटमा छुट्टा छुट्टै समितिहरु निर्माण गरिएको भएपनि उचित व्यवस्थापन हुन सकेको छैन् । चिसो र लगातार बर्षात हुने भू भागमा निकै समस्यासँगै धर्मावलम्बीहरुले रात गुजार्ने गर्दछन् । यो बर्ष जिल्ला बिकास समिति दैलेखले २१ वटा त्रीपालहरु भत्तजनहरुको लागि व्यवस्थापन गरेको स्थानीय बिकास अधिकारी हरी प्याकुरेलले जानकारी दिएका छन् ।
दैलेख देखि महावु सम्म यातायातको साधन पुग्न सक्ने भएको भए १२ है महिना धार्मिक पर्यटकहरु आउने प्याकुरेलले बताए । पहिलोपटक महावु पुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निकै सुन्दर स्थान भएकोले धार्मिक र अन्य सबै पर्यटकहरु भित्राउन सकिने भन्दै व्यवस्थापनमा समस्या भएको बताए ।
सडक समस्या ।
दैलेख देखि महावु हुँदै कालिकोट जुम्ला जोड्ने सडक निर्माणका लागि विगत १३ बर्षदेखि ग्रामिण पहुँच कार्यक्रम लागु गरिएको छ । अहिलेसम्म विभिन्न चरणहरु पार गर्दै गर्दाको मोटामोटी हिसाव मात्रै हेर्ने हो भने ७० करोड बढी रकम सडकमा खर्च भैसकेको छ । यसपालि निकै दुःख र महेनत गरेर उनीपाटा भन्ने स्थानसम्म १० वटा साना सवारी सधानहरु र ५० वटा मोटरसाईकल पुर्याईएको भएपनि बाटो बिग्रेका कारण आधाजती सवारी साधनहरु बाटोमै अलपत्र अवस्थामा छन् । करोडौं रकम खर्च गरेर बाटोको स्तर उन्नती नभएको प्रति आम नागरिकहरुले चर्को बिरोध समेत गरेका छन् । सडकको नाममा करोडौं रकम सकियो तर काम सन्तोषजनक भएको छैन् ।
सडक सँगै त्यस क्षेत्रमा होटल लगायतका स्थानहरुको समस्या भएकोले धार्मिक लगायतका अन्य सवै पर्यटकहरुलाई समस्या हुने गरेको छ । साभार धमाका दैनिक



Milan Shrestha । १ भाद्र २०७५, शुक्रबार १३:०१ बजे