पश्चिम सुर्खेतमा स्वास्थ्य विशेषज्ञ सेवाका लागि ‘मोवाइल शिविर’ संचालन गरिने


सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई औषधि र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री

११ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्र मार्फत विशेषज्ञ सेवा दिने उद्देश्यले ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ ।

प्रदेश राजधानीको ठाउँ भएपनि पश्चिम सुर्खेत स्वास्थ्य क्षेत्रमा पछाडी छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ गतेबाट विशेषज्ञ सेवासहितको मोवाइल शिविर सञ्चालन गरिने बताउनुभयो ।

‘सामान्य विरामी हुँदा पनि पश्चिम सुर्खेतका नागरिकहरु सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ,’ मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, ‘पश्चिमका नागरिकहरुलाई घर आँगनमै सेवा दिने उद्देश्यले असार १५ बाट मोवाइल शिविर सञ्चालन गर्दैछौं ।’ बर्षाको समय भएकाले असार र साउनमा महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । भदौबाट साप्ताहिक सेवा सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो । सालकोटमा विशेषज्ञ सेवा सुरु भएपछि छिमेकका अछाम र कैलालीका नागरिकहरुले पनि सहज स्वास्थ्य सेवा पाउने छन् ।

मन्त्री बुढाक्षेत्रीले सालकोटलाई पश्चिमको ‘स्वास्थ्य हव’का रुपमा विकास गरिने बताउनुभयो । ‘त्यसको सुरुवात यहीँ १५ गतेबाट हुँदैछ,’ उहाँले भन्नुभयो, ‘असार र साउनमा महिनाको दुई पटक र भदौबाट साप्ताहिक विशेषज्ञ सेवा पु¥याइने छ ।’ उहाँले सालकोटबाटै पश्चिम क्षेत्रका नागरिकहरुले बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियनलगायतका सेवाहरु पाउने जानकारी दिनुभयो ।

उहाँले सालकोट स्वास्थ्य केन्द्रलाई औषधि र उपकरण सम्पन्न बनाउनका लागि पनि पहल भइरहेको बताउनुभयो । ‘विशेषज्ञ सेवाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औजारहरु चालू आर्थिक वर्षभित्रै खरिद गर्दैछौं,’ उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधार निर्माण र थप उपकरणहरु आगामी आर्थिक वर्षमा खदि गर्ने योजना मन्त्रालयले बनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । ‘अहिले सामान्य विरामी हुँदा पनि यो क्षेत्रका नागरिकहरु सदरमुकाम वीरेन्दनगर र कैलाली जानुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘मन्त्रालयले पश्चिम सुर्खेतका जनतालाई सहज सेवा पु¥याउन सालकोट स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राखेको छ ।’

उहाँले तत्लो इकाईबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति सरकारले लिएको बताउनुभयो । ‘त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको व्यवस्थापनमा हामी लागेका छौं,’ घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवा नागरिकहलाई पु¥याउने काममा हामी लागेका छौं ।’

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डा. जीतेन्द्र यादवले सामान्य शल्यक्रिया पनि नहुँदा यो क्षेत्रका गरिव जनताहरुले सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले १५ शैय्याको अस्पतालको रुपमा स्तरबृद्धि भएपनि जनशक्ति र स्वास्थ्य उपकरण नहुँदा सो अनुसारको सेवा दिन नसकिएको जिकिर गर्नुभयो ।

‘सालकोट स्वास्थ्य केन्द्र पश्चिम सुर्खेतका तीन वटा पालिकाका साथै दैलेख, अछाम र कैलालीका नागरिकहरुको पनि केन्द्र हो,’ उहाँले भन्नुभयो, ‘जनशक्ति र स्वास्थ्य उपकरण भएमा यो क्षेत्रका गरिव नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउनुहुन्छ ।’ उहाँले जनशक्ति अभावमा पोष्टमार्टम भवन भने पनि प्रयोगमा आउन नसकेको बताउनुभयो । पोष्टमार्टमकै लागि पनि सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता यो क्षेत्रका नागरिकमा छ ।