वैशाख ९, काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वलाई गिरोहले कठपुतली जसरी नचाएको बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले पार्टी सभापतिसम्म पुग्न कर छल्ने, कमिसन खोर, कालाबजारीहरुसँग दयामायाको भिख माग्नु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘जनतामा भिजेको नेतृत्व स्थापित गराउने कि गिरोहको कठपुतलीका रुपमा नचाउने नेतृत्व स्थापित गर्ने ? सोच्नु पर्ने बेला आएको छ ।’
‘प्रदीप दाइ (प्रदीप गिरी) भन्नुहुन्छ, कांग्रेस गुट होइन, गिरोहले चलाएको छ । त्यो गिरोहलाई आफ्ना दाइहरुसँग मतलब छ, सिद्धान्तसँग मतलब छैन । म माग गर्छु, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आजको ब्याख्याबारे सबै तहमा छलफल गरौं ।’
कांग्रेस नेतृत्वमा देखिएको प्रवृत्ति केलाउँदै पौडेलले भने, ‘कांग्रेसभित्र एउटा प्रवृत्ति छ सानो घेराले घेरिने ।’
पार्टीलाई प्राइभेट कम्पनी र कार्यकर्तालाई दास सम्झनेदेखि आर्थिक लाभलाई मात्र महत्व दिने आफ्नो फाइदाका लागि पार्टीलाई नै दाउमा थाप्लेसम्मका प्रवृत्ति रहेको उनले बताए । नेताका आसेपासे अझ दमनकारी हुने प्रवृत्ति रहेको भन्दै नेता पौडेलले भने, ‘यो प्रवृत्ति रहेसम्म पार्टी उभो लाग्दैन ।’
युवा नेताहरुको ‘६ भाइ’ समूहका एक सदस्य पौडेलले शीघ्र महाधिवेशन गर्न र क्रियाशील सदस्यहरुले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
उनले निर्वाचनको मात्र नभई समग्र कांग्रेसकै समीक्षा गर्न जरुरी रहेको बताएका छन् । हामीले भनेको राष्ट्रियता, समाजवाद, लोकतन्त्रको परिभाषा के हो प्रष्ट हुन आवश्यक छ’ उनले भने, ‘निर्वाचनपछि पनि समग्र समीक्षा नगरी यथास्थितिबाटै अघि बढ्ने हो भने आगामी चुनावमा यो पोजिसन पनि आउँदैन ।’ अनलाइन खबर बाट



Milan Shrestha । ९ बैशाख २०७५, आईतवार १०:२८ बजे