प्रधानन्यायाधीश मेरो नातेदार, म विरुद्धको मुद्दा हेर्न मिल्दैन : लोकमान


३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीले कामु प्रधानन्यायाधीश सुशीला कार्की नातेदार भएकाले आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने जिकिर गर्दै निवेदन दिएका छन्।
लोकमानले अदालतको अवहेलना गरेको भन्दै शान्ता दीक्षितले दायर गरेको मुद्दा आइतबार प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो। उक्त इजलासमा मुद्दाको पालो आएपछि अधिवक्ता करुणकर मल्लिकले ‘सात पुस्ताभित्रको नातासम्बन्धी पर्ने भएकाले प्रधानन्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने’ जिकिर गर्दै लोकमानको निवेदन पेस गरेका थिए। निवेदनसँगै कार्कीको पुस्तावलीसमेत उनले पेस गरेका थिए।
निवेदन पढेपछि प्रधानन्यायाधीश कार्कीले इजलासबाट भनिन्, ‘मलाई त उहाँ नाता पर्नुहुन्छ भन्ने पनि थाहै छैन। म यो पुस्तावली पनि जान्दिनँ न त हाम्रो आवतजावत नै छ। के अब मैले अख्तियारको मुद्दा नै हेर्न नमिल्ने? मैले त यसअघि पनि अख्तियारका मुद्दा हेरेकी छु, त्यो बेला किन ल्याउनुभएन यस्तो निवेदन?’
जवाफमा लोकमानका वकिलले ‘यो अख्तियाविरुद्धको नभई लोकमानविरुद्धको मुद्दा भएकाले सात पुस्ताको नाताभित्र पर्ने कार्कीले हेर्न नमिल्ने’ बताए। अख्तियारका अन्य मुद्दा प्रधानन्यायाधीशले हेर्न मिल्ने तर यो नमिल्ने उनको जिकिर थियो।
यसअघि शान्ता दीक्षित र प्रधानन्यायाधीशको पनि नाता पर्ने भएकाले दीक्षितको मुद्दा हेर्न नहुने भन्दै पत्रपत्रिकामा खबर सार्वजनिक भएको थियो। सर्वोच्च अदालतले भने उनीहरुबीच ‘अदालती बन्दोबस्तको ३० नम्बर अनुसारको नातासम्बन्ध नभएकाले दीक्षितको बन्दीप्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीशले सुनुवाइ गरेको’ भन्दै विज्ञप्ति निकालेको थियो। सर्वोच्चको विज्ञप्तिपछि अख्तियार प्रमुखले आफ्नै नाता भएको जिकिर गर्दै आइतबारको इजलासमा निवेदन दिएका हुन्।
दीक्षितका वकिलहरुले तीनवटा आधार दिँदै प्रधानन्यायाधीश कार्कीले यो मुद्दा हेर्न मिल्ने प्रतिउत्तर दिएका छन्। ‘लोकमानले दिएको पुस्तावली वैधानिक होइन, नातासम्बन्ध सात पुस्ता भएर हुँदैन, सात पुस्ताभित्रको अंशियार हुनुपर्छ भन्ने नियमावलीमा उल्लेख छ र यो अन्य मुद्दा नभएर अदालतको अवहेलना मुद्दा भएकाले पनि प्रधानन्यायाधीश कार्कीले सुनुवाइ गर्न मिल्छ भन्ने हाम्रो जिकिर थियो,’ दीक्षितका वकिल रमेश बडालले सेतोपाटीसँग भने।
उनका अनुसार, अख्तियार प्रमुख कार्कीले दिएको निवेदनमा प्रधानन्यायाधीशसँग उनको कस्तो नाता हो भन्ने खुलाइएको छैन। ‘खाली सात पुस्ताका सम्बन्धी भएकाले नाता पर्नु हुँदो रहेछ भन्ने मात्रै निवेदनमा छ अनि पुस्तावली पेस गरिएको छ,’ अधिवक्ता बडालले भने।
बहस सुनेपछि प्रधानन्यायाधीश कार्कीले अख्तियार र दीक्षितसम्बन्धी यसअघिका सबै मुद्दा साथै राख्ने आदेश दिएकी छन्।
लोकमानको निवेदनमा प्रधानन्यायाधीशको के आदेश छ त्यो अहिलै थाहा नभएको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले बताए। ‘फाइल इजलासमै छ, इजलास अधिकृतसँग मेरो सम्पर्क भएको छैन, भित्रको कुरा एकछिनपछि मात्रै थाहा हुन्छ,’ उनले भने।
यसअघि कनकमणि दीक्षितले दायर गरेको रिटमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले दिएको आदेश अवज्ञा गरेको भन्दै दीक्षितपत्नी शान्ताले लोकमानविरुद्ध अदालतको अवहेलना मुद्दा दिएकी थिइन्। आयोगको पूर्ण बैठकले निर्णय नगरी कसैलाई बयान लिन नबोलाउनू वा पक्राउ नगर्नू भन्ने अदालतको आदेश अवज्ञा गर्दै आफ्ना पतिलाई पक्राउ गर्न पठाएको भन्ने शान्ताको जिकिर छ।
साभारः सेतोपाटी अनलाइन