जेष्ठ ३१, २०७३- कामु प्रधानन्यायाधीश सुशीला कार्की इजलासमा बसेकी मात्रै थिइन्, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निवेदन उनका प्रतिनिधिले पेस गरे ।
‘मेरो पुस्तावलीबमोजिम म लामा कार्की वंशभित्र पर्दोरहेछु भने सम्माननीयज्यूसमेत सोही लामा कार्की वशंभित्रको सन्तति पर्ने भई हामी दुवै उक्त वंशको ७ पुस्ताभित्रको नातेदार पर्ने भएको व्यहोरा यसैसाथ संलग्न वंशावली विवरणको फोटोकपी पेस गरेको छु,’ कार्कीको निवेदनमा लेखिएको थियो, ‘मुलुकी ऐनको अदालती बन्दोबस्तीको ३० नम्बरले सात पुस्ताभित्रको नातेदारको मुद्दा हेर्न नमिल्ने व्यवस्था भएको र सम्मानित अदालतका अन्य माननीय न्यायाधीशज्यूले समेत यसको पालना गर्दै आउनु भएकाले म संलग्न आजको पेस भएको मुद्दालगायत अन्य कुनै पनि मुद्दा उपरोक्त कानुनी व्यवस्थाका आधारमा सम्माननीयज्यूको इजलासबाट नहेर्दा यस सम्मानित अदालत र सम्माननीयज्यूको मानमर्यादामा समेत कोही कसैले कुनै प्रकारको प्रश्न गर्न नपाई अदालतको मर्यादामा समेत वृद्धि हुने व्यहोरा सादर अनुरोध गर्दछु ।’
कनकमणिकी पत्नी शान्ता दीक्षितले अख्तियारविरुद्ध दायर निवेदनको छिनोफानोमा इजलासमा पेस भएको यो पत्र र त्यसमाथि वादी प्रतिवादीको बहस सुनेपछि कार्कीले भनिन्, ‘अब मैले अख्तियारविरुद्धका कुनै पनि मुद्दा हेर्न नमिल्ने हो ? के अचम्म गरेको यस्तो ?’ आफू र आफ्ना पितासमेत कहिल्यै लोकमानको घरमा नगएको, उनलाई चिन्दा पनि नचिनेको र लामा कार्की हुँदैमा मुद्दै हेर्न नमिल्ने भन्ने तर्क नै हास्यास्पद भन्दै कार्कीले मुद्दा कारबाही अगाडि बढाइन् र लिखित आदेशसमेत जारी गरिन् ।
मुलुकी ऐनमा ‘आफ्ना हाडमा अपुताली परे खान पाउने, नाता र मामामाइजू, सानी ठूली आमा, सानु ठूलो बाबु, सासू, ससुरा, फुपू, फुपाजू, जेठु, साला, मीत, आफ्ना दिदीबहिनी, छोरी र यिनै दिएका जुवाइँ, भानिज, भाञ्जी, भाञ्जी बुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरुगुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकर चाकर र लेखिएका मानिसको एकाघरकासँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन’ भनी लेखिएको छ ।
उक्त दफाअनुसार पनि लोकमानसिंहसँग कुनै अपुताली खाने अवस्थामा आफू नरहेको, झगडा पनि नपरेको र एकैघरको पनि नभएकाले निवेदनमा उठाइएका कुराको औचित्य नभएको बताइन् । आफ्नो ‘विवाह भई गोत्र नै परिवर्तन भएको स्थितिमा’ अपुताली खाने वा अंश लाग्ने भन्ने प्रश्न नै नउठेको पनि उनले प्रस्ट पार्दै मुद्दाको कारबाही अगाडि बढाइन् ।
दीक्षित पत्नी शान्ता र कामु प्रधानन्यायाधीश कार्कीबीच पनि नातासम्बन्ध भएकाले उनको मुद्दा हेर्न नपाइने भनी केही दिनअघि सञ्चार माध्यमहरूमा समाचार आएपछि शुक्रबार सर्वोच्चले खण्डन गरेको थियो ।
‘कनकमणि दीक्षित र कनक–पत्नी शान्ता दुवै जनासँग सम्माननीय कामु प्रधानन्यायाधीश श्री सुशीला कार्कीज्यूको मुलुकी ऐन अदालती बन्दोबस्त महलको ३० नं. मा उल्लेख भएबमोजिमको कुनै पनि नाता वा सम्बन्ध नभएको/नरहेको हुँदा’ सर्वाेच्चको विज्ञप्तिमा भनिएको थियो, ‘सम्माननीय कामु प्रधानन्यायाधीश श्री सुशीला कार्कीज्यूसमेत रहनुभएको इजलासबाट सो मुद्दाको सुनुवाइ भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’
साभारः कान्तिपूर अनलाइन




Prawash Kumar Shakya । ३१ जेष्ठ २०७३, सोमबार ०३:३५ बजे