
सुर्खेत, १० साउन । पैसा कमाउन विदेश नै जानु नपर्ने, आफूले चाहे र मेहेनत गरे स्वदेशमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, दैलेख तोलीजैसीका छत्रबहादुर थापा । उनी अहिले २३ वर्षका भए विदेश जाने पैसाले स्वदेशमै लगानी गरे मनग्य आम्दानी कमाउन सकिने बताउँछन् ।
विदेश जाने पैसाले ई रिक्सा किनेर वीरेन्द्रनगर बजारमा चलाउने गर्छन्, दैलेखका छत्रबहादुर । विदेशमा जानु भन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राखेका थापा अहिले अटो रिक्सा चलाएरै आफ्नो जिविको पार्जन मात्र होइन, आम्दानी पनि गर्दै आइरहेका छन् ।
उनले भने ‘अहिले यहाँ ई रिक्सा धेरै चल्छ जस्तो लाग्यो र मैले पनि २ लाख रूपैयाँ हालेर अटो रिक्सा किनेर चलाइरहेको छु ।’ उनका अनुसार पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने छैन, आफुले चाँहे स्वदेशमै पनि पैसा कमाउन सकिन्छ ।
छत्र बहादुरलाई अमेरिकाको डीभी समेत परेको थियो । डीभी परेर पहिलो चिठ्ठी आएपनि दोस्रो चिठ्ठी नआएका कारण उनी अमेरिका जान पाएनन् । उनले भने, ‘डीभी परेको थियो पहिलो चिठ्ठी आयो तर दोस्रो चिठ्ठी आएन अनि जान सकिएन ।’ यसो भनिरहँदा उनको अनुहार मलिन देखिन्थ्यो । डीभी परे पनि अमेरिका जान नसकेका छत्रबहादुरले पछि गएर मलेसियाको लागि भिसा लगाएका थिए ।
मलेसियाका लागि भिसा लगाइसकेका उनले अहिले सुर्खेतमा चलिरहेको ई रिक्साले धेरै बजार पाएको देखेपछि आफूले पनि मलेसियाको भिसा रद्ध गरेर सुर्खेतमा ई रिक्सा चलाउँदै आएको बताए ।
अहिले वीरेन्द्रनगरमा ई रिक्साको धेरै बजार भएको हुँदा प्रतिस्पर्धा पनि धेरै नै भइरहेको अटो रिक्सा चालक छत्रबहादुरले बताए । उनले भने ‘एउटा रिक्सामा ५ जना भन्दा धेरै राख्दैनौं तर खुद्रामा भन्दा पनि रिर्जभमा रिक्सा चलाउँदा फाइदा हुन्छ ।’
उनले रिक्सा चलाउँदा कुनै गाह्रो नपर्ने बताए । उनले भने ‘मैले रिक्सा चलाएको देखेर अरु युवाहरु आएर सोध्छन् कि तपाईलाई रिक्सा चलाउँदा लाज लाग्छ की नाइ भनेर तर काम गर्दा पनि के को लाज भनेर म भन्ने गर्छु । प्रश्न सोध्ने त्यस्ता युवालाई आफ्नै देशमा काम गर्न के को लाज भन्ने जवाफ दिने गरेको उनले बताए ।
अर्काको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा पसिना बगाउँदा राम्रो हुने छत्र बहादुर बताउँछन् । ई रिक्सा चलाउँदा लाइसेन्स नभएका कारण ट्राफिकले हैरान पार्ने गरेको उनको भनाइ छ । उनले भने ‘ई रिक्साको लाइसेन्स खुलेकै छैन तर पनि ट्राफिकले हैरान गराउँछन् त्यसैले गर्दा पनि ई रिक्सा चलाउँदा अली ग्राहो पर्छ ।’
यातायात सेवा कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीसम्शेर रानाले ई रिक्साको लाइसेन्स अहिले नखुलेको बताएका छन् । उनका अनुसार ई रिक्साको लाइसेन्स जिल्लाबाट नभएर अञ्चलबाट खुल्ने गरेको बताए ।
सडकको खाल्डा–खुल्डीले गर्दा ई रिक्सा चलाउँदा गाह्रो पर्ने बताउँछन् छत्रबहादुर थापा । बाटोमा खाल्डा–खुल्डी नभएको भए ई रिक्सा चलाउँदा ग्राहो नपर्ने थापाले बताए । अटो रिक्सा चलाएर दैनिक १५ सय पैसा कमाइ हुने बताए ।
साभारः खबरइरा अनलाइन
Prawash Kumar Shakya । १० श्रावण २०७३, सोमबार १२:०९ बजे