ग्याल्पो ल्होसार २०७६


फाल्गुण, २०७६ । हरेक बर्ष एक पटक ल्होसार , लोसार वा लोछार आउछ । मुसा, गोरु, बाघ, खरायो (बिरालो), ड्रागन, सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर र बनेल गरि जम्मा बाह्वटा जनावरहरुमा समर्पित यो ल्होसार अर्थात नया वर्ष पालै पालो गरेर आउछ । यस प्रकार सबै जनावरहरुको एउटा चक्र पुरा हुनको लागि बाह् वर्ष लाग्छ । त्यसपछि त्यो चक्र पुन दोहोरिन्छ ।

नया वर्षमा एउटा जनावरको समय सुरु भए पछि अर्को जनावरमा समर्पित अर्को बर्ष शुरु नभए सम्म त्यो वर्षभरि नै उसको शासन चल्छ । त्यस वर्ष भरि जन्म भएका बालबालिकाहरु त्यही ल्हो अर्थात वर्गमा पर्छन र उनीहरुमा त्यस ल्होको प्रभाव रहेको हुन्छ । उसको स्वभाव, व्यक्तित्व इत्यादि मा त्यो कुरा झल्कन्छ । ड्रागन वर्षमा जन्म भएका बाल बालिकाहरु दृढ, निश्चयी तथा महत्वाकांक्षी हुन्छन् भने घोडा वर्षमा जन्म भएका बाल बालिकाहरु उच्च मनोवल भएका हुन्छन् । बादर वर्षमा जन्मेका बाल बालिकाहरु बुद्धिलाघव तथा चलाक हुन्छन् । त्यस्तै गरेर यसरी वाह् वटै ल्होका मानिसहरुको व्यक्तित्व तथा स्वभावहरु फरक हुन्छन ।

यस वाहेक जुन जनावरले शासन गरेको वर्ष हो त्यो वर्षको चरित्र पनि त्यस्तै हुन्छ । उदाहरणको लागि कुकुर वर्षलाई लिन सकिन्छ । ग्रन्थहरुमा लेखिए अनुसार कुकुरको दृढ ईच्छा शक्ति तथा न्याय प्रतिको कहिल्यै नझुक्ने चेतनाले कुकुर वर्षमा कमजोर पक्षमा रहेकाहरुलाई माथि उठाउदै ठुलो द्धन्द तर्फ समेत डोर्याउन सक्छ । यो विरोधभाषा पुर्ण मुद्दाहरुको सुनुवाइ हुने र अपरम्परागत तर प्रभावशाली परिवर्तनहरु ल्याइने वर्ष हो । कुकुरको उदार प्रभावद्धारा यस वर्ष समानता र स्वतन्त्रताको वकालत गरिनेछ । नेपालमा लगातार चार वर्ष सम्म चलेर सम्पन्न भएको ऐतिहासिक जन आन्दोलन पनि कुकुर वर्षमा सफल भएको हुदा यस कुराको थप पुष्टि हुन्छ । नेपालमा बौद्ध धर्मावलम्बीहरु द्धारा ग्याल्पो ल्होसार, किसानहरु द्धारा सोनाम ल्होसार र गुरुङ जातिद्धारा तोला ल्होसार गरि तिन प्रकारका ल्होसारहरु धुमधामका साथ मनाइन्छन । त्यसै गरी सुर्खेत, अछाम, बाजुरा, जुम्ला, कालिकोट र मुगुका बौद्ध धर्मावलम्बीहरुले यही ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यसै गरी बौद्ध धर्मावलम्बीहरुको पात्रो अनुसार पहिलो दिन वा मिति २०७६ साल फाल्गुन १० गते बाहै महिनाको २९ गते वा (ङिस्यु गु) का दिन टोल टोलका छिमेकीहरु जम्मा भई गएको वर्ष भरिका फोहोर मैला वा दुखका दिनहरुलाई हटाउनको लागी लु फाल्ने गरिन्छ । दोश्रो दिन वा फाल्गुन ११ गते बाहै महिनाको ३० गते वा (नामगाङ) दिनमा सेल रोटी वा विभिन्न खाने परिकाहरु तयार गरिन्छ । तेश्रो दिन फाल्गुन १२ गते नया वर्ष वा २१४७ औ ग्याल्पो ल्होसार वा जीवा (मुसा) ल्हो (वर्ग) शुरुवात हुने गर्दछ र उक्त विहान ३ बजे बाट आफ्नो कुल देवताको लागी तिन वटा शुद पानी मुहानमा पानी लिन जाने चलन रहेको छ । त्यसै गरी उक्त दिन शुरुमा आफ्नो घर परिवार भित्र ठुलाबाट सानालाई सेतो टीका र खादा लगाई आशिर्वाद दिने चलन रहेको छ । र त्यस पछि लागातार तिन दिनको विहान ११ बजे सम्म ठुलाबाट सानालाई टीका लागाउने चलन रहेको छ । र उक्त दिनको साझ आ आफ्नो टोलका समुदायहरु जम्मा भई एकै ठाउमा ल्होसार खाने गर्दछ र उक्त तेश्रो दिनको ल्होसारलाई पुरुष ल्होसार पनि भनिन्छ । उक्त दिन विविध कार्यक्रमहरु गरी रमाइलो गर्ने गरिन्छ । त्यसै गरि चौथो दिन महिलाहरु मात्र जम्मा भएर महिला ल्होसार मनाई विविध रमाइलो कार्यक्रमहरु गरि ल्होसार खाने चलन रहेको छ ।

शाक्यमुनि गौतम बुद्धले आफु परिनिर्वाण हुन भन्दा पहिले सवै जीव जन्तुहरुलाई आफ्नो अन्तिम दर्शन गर्न आह्वान गर्नु भएको थियो । उहाको आज्ञालाई स्वीकार गदै जम्मा बाह्वटा जनावरहरु मात्र भगवान बुद्धको अन्तिम दर्शन गर्न भनेर पुगे । भगवान बुद्धले ती जनावरहरु उपस्थीत भएको क्रम अनुसारले प्रत्येकलाई एक एक वर्ष समर्पण गर्दै बाह्वटा वर्षहरुको वर्ष चक्र बनाउनु भयो । त्यस क्रम अनुसार सबैभन्दा पहिला रहरलाग्दो मुसा, त्यस पछि कडा परिश्रमी गोरु, करिश्मामय बाघ, विवेकशील खरायो, दृढ निश्चयी तथा महत्वाकांक्षी ड्रागन अनि त्यस पछि विद्धान तर चतुर सर्प पुग्यो । त्यस पछि क्रमश उच्च मनोवल भएका घोडा, भावुक भेडा, बुद्धिलाघव तथा चलाक बादर , रङ्गीन चरा , मायाको भागिदार कुकुर पुच्छर हल्लाउदै पुग्यो । अन्त्यमा पौरखी बनेल पुग्यो ।

त्यसरी भगवान बुद्धको निमन्त्रणालाई स्विकार गरेर उहाकोे अन्तिम दर्शन गर्न जानेबारे मुसा र विरालो विच सल्लाह भयो । आख्यान अनुसार त्यस बखतसम्म मुसालाई विरालोले खाने गरेको थिएन । सल्लाह अनुसार भोलिपल्ट विहान जो पहिला उठे पनि अर्कोलाई उठाएर सगै जाने कुरा भयो । भोलि पल्ट विहान मुसा पहिला उठ्यो र विरालोलाई खबर नै नगरिकन एक्लै भगवान बुद्धको अन्तिम दर्शन गर्न भनेर गयो । मुसाले गरेको यस बेइमानीको कारण उसको स्थानमा खरायो पुग्यो र खरायोलाई नै चौथो स्थानमा राखियो । विरालो निन्द्राबाट व्युझेर भगवान बुद्धको अन्तिम दर्शन गर्न पुग्दासम्ममा भगवान बुद्धको परिनिर्वाण भैसकेको थियो । मुसाले गरेको बेइमानीको कारण विरालोको गन्ती भएन तर भियतनाम तथा नेपालको तामाङ, गुरुङ समुदायमा विरालोलाई नै मान्यता दिएर गणना गरिने चलन अध्यापि छदैछ । चिन, तिव्वत आदि देशहरुमा भने खरायोको गणना गन्छि । मुसाले गरेको त्यस बेइमानीको कारण विरालोले मुसालाई खान थाल्यो भनिन्छ । त्यस्तै गरेर अर्को आख्यान अनुसार बाह्वटा जनावहरु विच वर्ष गणना चक्रमा सबैभन्दा पहिला को आउछ भन्ने बारे होडबाजी चल्दा जो पहिल खोला तरेर जान्छ ऊ नै पहिला हुन्छ भन्ने संम्झौता अनुसार सबैजना खोला तर्न थाले । गोरुले थाहा नपाईकन चलाक मुसा उमाथि चढेको थियो र खोला तरी सके पछि फुत्त फाल हालेर गोरु भन्दा पहिला मुसा पुग्यो । यस प्रकारले मुसा पहिलो भयो र मुसा पछि मात्र गोरुको गणना आउन थाल्यो ।

बाह्वटा जनावरहरुमा आधारित वर्ष गन्ने परम्पराको शुरुवात शाक्यमुनि बुद्ध भन्दा पहिले भएको हुदा शाक्यमुनि बुद्ध भन्दा पहिलेका बुद्धले यस परम्पराको थालनी गरेको हुन सक्छ किनकी शाक्यमुनि बुद्ध भन्दा पहिले पनि धेरैेले बुद्धत्व प्राप्त गरि सकेको कुरा शाक्यमुनि बुद्ध स्वयले बताउनु भएको छ । त्यसै गरि सुगुर वर्गलाई बनेल वर्ग पनि भनिएको छ । सुगुर वर्गका मानिसहरुले आफुलाई सुगुर वर्गको भन्नमा अप्ठयारो मान्ने भएकोले सुगुर भन्दा बनेल भन्दाखेरि अलि राम्रो सुनिने र चिनमा समेत त्यस्तै चलन भएकोले त्यसो गरिएको हो । जापानमा भने सुगुर नै गनिन्छ । गणना चक्रको बाह्वटा जनावहरुमा सवैभन्दा असल र सबै भन्दा खराव भन्ने कुनै पनि जनावर छैन । हरेक जनावरहरुको आ–आफनै विशेस्ताहरु छन । कुनै जनावर एउटा पक्षमा बलियो छ भने अर्को पक्षमा कमजोर छ । यद्यपि चीनमा अग्रि ड्रागनलाई सबैभन्दा उत्तम तथा भाग्यशाली मानिन्छ । अग्रि ड्रागन वर्गको बच्चा पाउनको लागि दुई वा तीन वर्ष पछिको विवाहलाई समेत त्यही अनुकुल हुने गरि अघाडी सार्ने गरिन्छ , ठुला कामहरुको सुरुवात यसै वर्ष गर्ने गरिन्छ । ड्रागन वर्षमा चीनमा बढी बाल बच्चाहरु जन्मने गरेका छन । अर्को कुरा ड्रागनबारे भारत वर्षमा कुनै अवधारण नै नभएको हुदा ड्रागनलाई ड्रागन नै लेखिएको छ । ड्रागनको अवधारण यूरोपेली देशहरुमा समेत रहेको पाइएको छ । कसै कसैले ड्रागनलाई गडुल भन्ने गरेको पाइएको छ तर गडुल र ड्रागन दुईवटा अलग अलग प्राणीहरु भएको पाइएको छ । बाह्वटा जनावरहरु मध्ये ड्रागन एकमात्र त्यस्तो जनावर हो जुन हाल अस्तित्वमा छैन । त्यो डाइनोसर जस्तै भएर लोप भैसकेको छ । यसले आफ्नो मुखबाट आगोको मुस्लो फ्याक्न सक्छ भन्ने विश्वास गरिन्छ । डिस्कभरी टि भी च्यानलले हप्ताभरि नै ड्रागनबारे कार्यक्रमहरु प्रसारण गरेका पनि छन । रुमानियको एउटा गुफामा ड्रागन वास्तवमा नै फेला परेको हो भने त्यो एउटा रोमाञ्चवारि घटना हुन जान्छ ।

पोखराका गुरुङ समुदायले ड्रागनको स्थानमा गिद्ध राखेको पाइन्छ । त्यस्तै बनेलको स्थानमा हरिण राखेको पाईन्छ । बाकी सबै वर्गहरु दुरुस्त मिल्छ । आफ्नो वर्ग संग मिल्ने वा नमिल्ने कुरामा वर्ग नै मुख्य कुरा हुदा हुदै पनि आफ्नो वर्ग सग मिल्ने वा नमिल्ने भन्ने कुरा व्यक्तिको खाममा पनि भर पर्छ । खाम पनि पाच वटा हुन्छन । तिनीहरु च्या (फलाम), छु (जल), सिङ (काठ), मे (आगो), सा (माटो) हुन । एउटा खाम दुई वर्ष सम्म रहन्छ र पाचवटा खामहरुको चक्रबाट गुज्र्रदै बाह्वटा जनावरहरुको एउटा चक्र पुरा हुनको लागी साठी वर्ष लाग्छ । त्यसैले प्रत्येक साठी वर्षमा एकपटक एकै खाम भएको एकै वर्गको मानिसको जन्म हुन्छ । फलाम खाम भएको कुकुर वर्गको काठ खाम भएको ड्रागनसंग ज्यादै अमिल्दो सम्बन्ध हुन जान्छ । यहानेर यी दुईवटा वर्गहरुको खाम तथा बर्ग (ल्हो) दुवै मिलेको छैन । खाम मिलेको कारणले माटो (सा) खाम भएको कुकुरको काठ (सिङ) खाम भएको ड्रागनसंगको सम्बन्ध ज्यादै नराम्रो हुदैन .

१२ गते पहिलो टिकाको दिन ठुला बाट सानालाई टिका लगाएर ३ दिन सम्म ल्होेसार मनाई गरिन्छ भने तेस्रो दिनको ११ बजे सम्म टिका लगाएर समापन गरिन्छ ।