धमिलो यादमा बुवा 


               कृष्णराज धमाला

सायद म तिन बर्षको थिएँ, मेरा बुवाले यो सांसारिक रंगमञ्च छाडेको दिनमा । बुवा कस्तो हुनुहुन्थ्यो एकिन छैन मलाई । घरको आँगनमा फेरुवा फालेर को बैजीले उपचार गरिरहेको धमिलो यादमात्र बाँकि छ मेरो मानसपटलमा । जो फेरुवामा पल्टिइनु भएको थियो, उहाँ नै मेरा बुवा हुनुहुँदो रहेछ, जब म जान्ने बुझ्ने भएपछि उहाँको अन्तिम उपचार यसरि गरीएको थियो भनेर आमाले भनेपछि मात्रै मलाई पुरानो याद आयो र त्यही अनुहारलाई मैले बुवाको अनुहारको छाया मानेको छु । बुवाको माया त पाउन सकिन तर पनि उहाँको तस्किरको छाया सम्म पनि पाउन सकिन मैले । पहिले पहिले त बुवाको खासै अभाव भएन । बिद्यालयमा जाँदा साथीहरुले हाम्रो बुवाले यो दिनुभएको, यसो भन्नुभएको छ भने पछि मलाई बुवा नभएको क्रमश महशुस हँुदै जान थाल्यो । जब बुवाको याद आउँछ, मनमा फरक खाले सन्नाटाले वास बस्ने गर्छ, यो क्रमले हाल सम्म निरन्तरता पाइरहेको छ र लाग्छ मैले श्वासप्रश्वास प्रक्रियामा सहभागिता जनाउँदा सम्म सन्नाटाबाट छुट्कारा पाउने छैन कदापि पनि ।

साथीहरु बुवाको धम्कि दिन्थे र मलाई थर्काउथे पनि । मेरो वालापन जसरि बित्यो त्यो स्मरण गर्न पनि कठिन कठिन हुन्छ मलाई । सायद यो पृथ्वीमा म जस्तै धेरै होलान्, बुवाको अपार मायाबाट बञ्चित भएकाहरु तरपनि मलाई मेरो बुवाको माया र छाया सम्म नपाउँदाको पीडा मात्रै छैन, अबत म पनि बुवा बनेको छु, त्यो मायाबाट बञ्चित हुन नपरोस् भन्ने कामना गरिरहेको छु । केबल मेरो मानसपटलमा घरेलु उपचार भइरहेको सादा आकृति मात्रै गाढा भएर बसेको छ, त्यही आकृतिलाई नै बुवा मान्न बाध्य छु म ।

बुवाको माया कति हुन्छ अनि डर कति हुन्छ मलाई थाहा छैन । बुवा हुँदाको आनन्द कति हुन्छ त्यो पनि थाहा छैन मलाई । बुवाले छोरालाई के के दिनुहुन्छ त्यो पनि थाहा छैन मलाई । बुवाले छोराका लागि के गर्छन् त्यो प्राप्ति र भोगाई पनि छैन मलाई । मलाई छ त बुवाको त्यहि धमिलो आकृति, जसलाई मैले मानसपटल र मुटुको गबिर भित्र सजाएर राखेको छु अहिले सम्म । अरु कसैले पनि, कहिल्यै पनि, केहि गरेपनि नदेख्ने गरि, देख्छु, हेर्छु र मुलाकाज गर्छु, गरिरहन्छु र गरिरहने छु जीवन प्रयत्न सम्म पनि मात्र मैले मात्रै ।
बुवाले दिने माया पनि आमाले दिनु भयो होला, आजकल यस्तै लागिरहेछ मलाई । बुवा नभएपछि बुवाको माया मेटाउन आमाले के कति त्याग गर्नुभयो या सहजै सम्भव भयोहोला त्यो भने थाहा छैन । अलि ठूलो भएपछि थाहा हुँदै गयो, आमासँगै दाजुहरुले पनि बुवा नहुँदाको अविभावकत्व प्रदान गर्नुभएको रहेछ ।

खासमा मैले पहिलो पटक बुवाका बारेमा केहि कुराहरु लेख्ने प्रयास गरेको हुँ । केही लेखेर बुवाको साथ नपाएकोमा पीडा ओकल्न पनि लेख्न मन लागेको होइन, नत बुवा छैनन् र पनि म खुसी छु यसोपनि हुँदै होइन । मात्र एकजना चित्रकारको सहयोगमा तिनतिन पटक सच्च्याएर अनुमानमा बुवाको तस्बिर बनाउदा मैले र दाजुले जत्ति कष्ट गर्नु पर्यो त्यो चित्रकारलाई बोझ थोपर्नु पर्यो, त्यो सम्झनाले सताएर केही लेख्न मन लागेको मात्रै हो । जीवनभर बुवाको माया, ममता, आशिर्बाद नपाए पनि बुवा नभएको भए म सम्भव थिन, त्यसैले धमिलो भएपनि मानसपटलमा भएको छायाले केहि शब्दहरु त बुवाकालागि दिउँ भन्ने लागेर केहि लेख्न मन लाग्यो, अनि लेखे पनि ।

बुवाको सामीप्यताको कहिल्यै महसुस गर्न नपाएको म हरेक बर्षको आजको तिथिमा खुशि हुनै सक्दिनँ । खुशि नहुने पंक्तिमा म एक्लो छैन भन्नेमा पनि बिस्वस्त छु । बुवाको अनुपस्थितिमा बाटो पनि खुला नहुँदो रहेछ, चिप्लियो भने उठाउने हात पनि नपाइदो रहेछ, यसो भनौं बेसहारा बेसहारा जस्तो ।

आजको दिनमा बुवा भएको भए के गर्थें त्यो त भन्न सक्दिन तर म जान्ने र बुझ्ने हुँदा सम्म बुवाको साथ पाएको भए, उहाँको अनुहारको याद भएको भए कति सम्झनाहरू सँगालेर राख्थे होला बुबाको । मसँग त बुबालाई सम्झने तस्बिर सम्म पनि छैन ।

बुबाको माया र सामीप्यता त थाहा छैन मलाई तर पनि मेरा यात्राका हरेक पाइला पाइलामा बुवाको अभाव खड्कि रहन्छ । मेरा सफलता र असफलताहरुमा उपाय र उत्साहको कमी भइरहन्छ । गुनासो गर्न मन भएपनि गुनासो गर्ने निकाय पनि छैन र त्यो गुनासो निर्णयमा पुग्ने पनि छैन बुवालाई खोसेर लिने समय सँग ।

बुवाको अनुहारको धमिलो यादले कतिबेला पछुत्ताउछु त कतिबेला आधुनिकताका नाममा केहि आमाबुवाहरु बृद्धाश्रममा बस्नु पर्ने, छोराछोरीबाट आमाबुबा एक्लिँदै गएका यथार्तताले बुवा भैदिएको भए कतै मैले पनि यहि हालतमा राख्ने थिएकि, सोच्न बाध्य पनि हुन्छु । सम्पन्नता र सुखको खोजीमा कत्ति छोराछोरी विदेशिएका छन्, भने कत्ति सहर पसेका छन्, बुवाआमाको बेजोग बनाएर ।

जो जस्का बुवा हुनुहुन्छ उहाँहरुले सामाजिक सञ्जालमा माया गरेजस्तै सन्तानबाट चाहेको वास्तबिक प्रसंशा गर्न नभुल्नुहोला अनि सन्तानको प्रेमको अनुभूत गर्ने अबसर दिनुहोस् ।

बचपनका धेरैजसो यादहरू सम्झनाबाट झन्झन् टाढि रहेका बेला बुवाको धमिलो याद भने क्रमश बढ्दै गइरहेको छ, यो याद नघटोस् अझै बढ्दै जाओस् कामना गरिहेको छु ।