विप्लव माओवादीप्रति कडा निगरानी


काठमाडौं: गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वल्र्ड भिजन इन्टरनेसनल नेपालको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कारबाही गर्न निर्देशन दिएका हुन्।

उनले एनसेलको बेस स्टेसन र वल्र्ड भिजनको कार्यालय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिए।’तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन्। पक्राउ गरेर कानुनी दायरामा ल्याउनुहोस्’, सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले दिएको निर्देशन उद्धृत गर्दै गृहका प्रवक्ता यादवराज कोइरालाले भने।

आन्तरिक छलफल भनिएको बैठकमा बस्नेतले एनसेलको बेस स्टेसन जलाइएको घटनाप्रति लक्षित गर्दै भने,’यो घटनाले अर्को सुरक्षा चुनौती थपिएको छ। चुनौतीलाई आंकलन गरेर सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेर नियन्त्रण र कारबाही प्रक्रिया अगाडि बढाउनुपर्यो। जुनसुकै समूह वा व्यक्ति भए पनि कारबाही हुनुपर्छ।’

उक्त पार्टीका कार्यकर्ताले शनिबार सल्यान, दाङ, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ, बागलुङ र गोरखा जिल्लामा रहेका एनसेलका १० वटा बेस स्टेसन जलाएका थिए। यीमध्ये केहीको जिम्मा उक्त पार्टीले लिएको थियो। त्यसैगरी शनिबारै मध्यराति नुवाकोटस्थित वल्र्ड भिजनको शाखा कार्यालयमा समेत सोही पार्टीका कार्यकर्ताले आगो लगाएका थिए।

प्रहरी प्रधान कार्यालयले शनिबार देशभरका प्रहरी कार्यालयलाई’विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरूका गतिविधिलाई विशेष निगरानी गर्नू’ भन्दै परिपत्र पनि गरेको छ।’हामीले यो घटनालाई सामान्य रूपमा लिएका छैनौ। प्रहरी मात्रै नभएर यो सरकारमाथि पनि प्रश्न उठ्ने कुरा हो।

प्रहरी मुख्यालयले विप्लव नेतृत्वको माओवादी र उनीहरूका गतिविधिमाथि उच्च निगरानी राख्न देशभरका कार्यालयमा परिपत्र गरिसकेको छ’, नेपाल प्रहरीका प्रवक्ता डीआईजी माधवप्रसाद जोशीले अन्नपूर्णसँग भने। उनले एनसेलको बेस स्टेसन र वर्ल्ड भिजनको कार्यालय जलाउनेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको बताए।
साभारः अन्नपूर्ण अनलाईन ।