लालपुर्जाविहीन पीडित अनुदानबाट वञ्चित


घर पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्न सुरु गरिएपनि भूकम्पप्रभावित जिल्लाका लालपुर्जाविहीन पीडितहरु त्यस्तो सुविधाबाट वञ्चित भएका छन्।
भूकम्पबाट सबैभन्दा प्रभावितमध्येको दोलखाको सिंगटीका कतिपय पीडित अहिले त्यस्तै समस्याबाट गुज्रिरहेका छन्।
त्यहां पछिल्लो पटक प्रकाशित नामावलीमा थुप्रै पीडितहरुको नाम समेत छुटेको भन्दै असन्तुष्टि बढेका बेला सरकारले हालसम्म ७ सयको हाराहारीमा मात्र सहयोग रकम वितरण गर्न सकेको बताइएको छ।

पीडा

गत फागुनको अन्तिम हप्ताबाट अनुदान रकम वितरण गरिएपनि त्यसबीचमा गाविस सचिवहरुको असन्तुष्टिका कारण दुई महिना काम रोकिएको थियो।
वैशाख १० गतेबाट अनुदान वितरण कार्य पुन: सुरु भइरहेपनि जग्गाधनी लालपुर्जा नहुनेले अनुदान रकम नपाउने भन्ने कुरा उठेपछि लालपुर्जा नभएका भूकम्पपीडितहरु अन्योलमा परेको देखिन्छ।
एक जना भूकम्प पीडित रामबहादुर बस्नेत भन्छन् ,” भूकम्प परिचयपत्रका आधारमा पैसा पाइन्छ भनेर ढुक्क भयौं। अब यो पैसाको हकमा चाँहि लालपुर्जा हुनेहरुलाई मात्र दिने भनेका छन्। छोराहरुले पनि पाउने हो कि नपाउने हो? “

कठिनाइ

पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाका प्रमुख हरिप्रसाद शर्मा भने अनुदान रकम सम्झौता गर्ने बेलामा अधिंकाश पीडितको जग्गाधनी लालपुर्जा नभएको पाइएपछि अनुदान रकम पाउने व्यवस्था गरेको बताउँछन्।
उनले भने,”लालपुर्जा नभएपनि बैशाख १२ भन्दा अगाडि र फरक फरक अंशबन्डा नभएपनि छुट्टिएको हो भन्ने सरजमिनको आधारमा दिन सकिने भन्ने छ।”
सिंगटी जस्तै थुप्रै गाउँका स्थानीयवासीहरुसंग नागरिकता र लालपुर्जा जस्ता आवश्यक कागजपत्र नहुंदा अनुदान कार्यमा कठिनाइ भइरहेको अधिकारीहरुको भनाइ छ।
पछिल्लो पटक प्राधिकरणले सार्वजनिक गरेको भूकम्प पीडितको नामावलीमा नाम छुटेको भन्दै पीडितहरुले फेरि चर्को विरोध गर्न थालेपछि काममा थप कठिनाइ भएको अधिकारीहरुले बताएका छन्।
साभारः विविसी नेपाली