भाद्र २७, सुर्खेत ।
हरितालिका तीज आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास अनुसार पुजाआजा गरिन्छ ।
आज व्रत बस्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरि कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले नै त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रमा उल्लेख छ ।
पछिल्लो समय तीजका नाममा उत्श्रृंखलता र तडकभडक तिब्र देखिदै आएको पाइन्छ । एक महिनाअगाडिदेखि दर खाने, महंगा गरगहना तथा फेशन प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको जस्ता प्रतिक्रियाले तिब्रता पाएका छन् । यस्ता बिकृतिहरुले समाजमा नकारात्मक असर पार्ने तर्फ दिनेहरुको संख्या भने बढ्दो छ ।



Milan Shrestha । २७ भाद्र २०७५, बुधबार १२:०३ बजे