
भाद्र २८, जुम्ला ।
जुल्ला जिल्लाको तातोपानी गाउँपालिका ६ की जौमाया रोकायाले १६ बर्षको उमेरमा विवाह गरिन् । उनले १७ वर्षको उमेरमै छोरो जन्माइन् । समाजको लहैलहैमा कम उमेरै विवाह गर्दा उनमा पारिवारीक बोझ बढ्यो । उनको पढाई बीचैमा रोकियो । उनी हिमशिखर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । कलिलो उमेर मै एक सन्तान जन्मेपछि उनलाई कार्य बोझ अझै थपियो । जीवनभरीका लागि बुनेका उनका सपना सवै चकनाचुर भए । अहिले परिवार धानेर बसेकी छिन् उनी । उनकै साथी कला विष्टको पनि १७ वर्षमा एक सन्तान जन्मियो । शारीरिक रुपमा अपरिपक्क यी दुवै किशोरीको स्वास्थ्यमा समस्या पनि थपियो । बेला बेलामा रिंगटा लाग्ने र पेट दुख्ने समस्याले पिरोल्ने गरेको उनीहरु वताउँछिन् ।
जौमाया र कला प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै किशोर अवस्थामा विवाह बन्धनमा बाँधिएर पीडा सहीरहेका त्यो वडामा दर्जन बढि किशोरीहरु छन् । सवै कुनै न कुनै स्वास्थ्य समस्याले ग्रसित छन् ।
विद्यालय उमेरमा बालविवाह गर्ने क्रम नरोकिएपछि यहाँ किशोरी आमाको संख्या दिनानुदिन बढ्दैछ । कला विष्टले भनिन्, ‘पहिले रहरै रहरमा विवाह भयो, अहिले जीन्दगी चौपट भयो ।’ परिवारमा सन्तुष्टी भएपनि स्वास्थ्यमा नकारात्मक असर परेको प्रति उनी चिन्तित् छिन् । विद्यालय उमेरमै विवाह गर्ने गरेका किशोरी विवाहपछि विद्यालय छोड्ने गरेका हुन् । जुम्लामा १५ देखि १८ वर्ष उमेर समूहका किशोरी, किशोरावस्थामा नै आमा बन्छन् । मानसिक र शारिरीक रूपमा परिपक्व नभएको बेला आमा बनेपछि उनीहरूबाट जन्मिने बालबालिका पनि कुपोषित नै जन्मिने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । उनीहरुका अनुसार मानव विकास सूचांकमा सबैभन्दा पछाडी परेको कर्णालीका बालबालिकामा यो समस्या अत्याधिक देखिएको हो ।
६ वटा वस्ति रहेको तातोपानी गाउँपालिका ६ मा यस्ता किशोरी आमाको संख्या एकिन् नभएपनि ठुलो सख्यामा किशोरी आमा बनेका छन् । उनीहरुले जन्माएका वालवालिका कुपोषित छन् । वडा सदस्य देविकन्या आचार्यले भनिन्, ‘कम उमेरमा विवाह नगर्नको लागि महिलालाई शसक्तिकरण गराउन जरुरी छ । स्थानीय तहले बढ्दो बालविवाह न्युनिकरण गर्न यहाँको परिस्थिती अनुकुलको योजना बनाउन उनले आग्रह गरिन् ।
गाउँपालिका तथा वडा स्तरबाट महिलाका लागि उपयोगी कार्यक्रम तर्जुमा गर्न दबाव दिने उनको भानी योजना पनि छ । उनले भनिन्, ‘कम उमेरमा विवाह गरेर आमा बन्ने चलन नौलो विषय होईन, यो पहिलै देखि चल्दै आएको हो, तर अब यो विषयमा संवेदनशिल बन्नु पर्छ ।’ यो अवस्था मौलाउँदै जाँदा समाजको स्वास्थ्य अवस्था नै खल्बलिने देखिन्छ, उनले थपिन् ।
विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको आँकडालाई हेर्दा जुम्लाका सवै गाउँपालिकामा वालविवाह बढ्दो अवस्थामा छ । जिल्लाको पातारासी गाउँपालिकामा किशोरा अवस्थामा आमा बन्नेको सख्या झन् धेरै छ । जुम्लाका स्थानिय तहले महिला र बालवालिकाको क्षेत्रमा विशेष योजना बनाएर अघि बढ्ने बताएका छन् । तर अहिले सम्म डोजर लगाएर बाटो खन्ने बाहेक अरुलाई विकास मान्ने गरेको देखिदैन ।
नियमित स्तनपानको कमी, पोषणयुक्त खानाको अभाव र गर्भवती तथा सुत्केरी पछिको अवस्थामा शिशु तथा आमाको स्याहारमा हुने लापरबाहीले बालबालिकामा कुपोषणको गम्भिर समस्या देखिएको हो । यही समस्याका कारण कर्णाली प्रदेशका बालबालिकामा रक्तअल्पता, ख्याउटे र पुड्कोपनाको समस्या बढ्दै गएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा कर्णालीका ५४ दशमलव ५ प्रतिशत बालबालिका कुपोषणका कारण पुड्का छन् । कम उमेरमा विवाह गर्नुको परिणति हो यो ।



Milan Shrestha । २८ भाद्र २०७५, बिहीबार १४:१५ बजे