भदौं ३० गतेदेखि हुने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँगको छलफलमा सम्झौता भइसकेका ठूला आयोजना अघि बढाउने प्रस्ताव राख्ने भएका छन्।
दिल्लीमा परराष्ट्रमन्त्री प्रकाशशरण महतको भारतीय समकक्षी सुष्मा स्वराज लगायतका उच्च अधिकारीसँगको भेटवार्तामा एजेण्डाबारे छलफल भएको हो।
प्रचण्डको भारत भ्रमणको तयारीको रुपमा हेरिएको मन्त्री महतको भारत भ्रमणका क्रममा उनले भारतीय नेतासँगको भेटमा त्यसबारे कुरा राखेको जानकारी दिए।
उनले भने, “पञ्चेश्वर आयोजना, विद्युत व्यापार सम्झौताको कुरा छ, ट्रान्समिसन लाइन थप गर्ने कुरामा त ब्रेक थ्रु नै भएको अनुभव मेरो रह्यो। मलाई लाग्छ, प्रधानमन्त्रीबीचको छलफलको विषयमा मेरो तहको बैठकले धेरै कुरा सहज गराउने विश्वास लिएको छु।”
उत्साही
दिल्लीमा गरेको राजनीतिक भेटघाटपछि बीबीसीसँगको कुराकानीमा परराष्ट्रमन्त्री महत उत्साही सुनिए।
सीमाक्षेत्रमा हुने डुबानको समस्या र त्यसलाई प्राकृतिक रुपमा बहाव दिन अनुगमन संयन्त्र बनाउने कुरा आफुले उठाएको उनले बताए।
उनले भने, “मूलत: जनतासँग जोडिएका नेपालको हितका महत्वपूर्ण सबै विषय हामीले राख्यौं, उहाँहरुको दृष्टिकोण अत्यन्तै सकारात्मक पायौं।”
परराष्ट्रमन्त्रीले महत्वपूर्ण भेटघाट गरेकै दिन दुबै देशले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक जानकारी गराएका छन्।
राजकीय
भारतीय परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भ्रमणले ‘दुबै पक्षलाई आपसी हित र सरोकारबारे कुरा गर्नुका साथै दुई मुलुकबीचको ऐतिहासिक, निकट र मित्रवत सम्बन्ध थप बलियो बनाउने अवसर प्रदान गरेको’ विज्ञप्ति मार्फत जनाएको छ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डलाई उनका पूर्ववर्ती केपी शर्मा ओलीलाई झैं राष्ट्रपति भवनमा बस्ने व्यवस्था भारतले मिलाएको छ।
उक्त कुरा उल्लेख नगरिएको भारतीय विज्ञप्तीमा ‘प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रचण्डको पहिलो विदेश भ्रमण हुने’ कुरा महत्वका साथ उल्लेख छ।
साभारः विविसी






Prawash Kumar Shakya । २७ भाद्र २०७३, सोमबार १६:४८ बजे