महिला सम्बन्धी नेपालको पहिलो डिजिटल पत्रिका महिला खबर डटकमका सम्पादक लोग्शरी कुँवर ‘एनपीस अवार्ड २०१८’ का लागि मनोनित भएकी छन् ।
१५ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवर लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त कलम चलाउँदै आएकी छन् । उनी एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ (नभनिएको कथा) का लागि मनोनित भएको यूएनडीपीको एनपीस नेटवर्कले जनाएको छ ।
लोग्शरी कुँवर
दिगो शान्ति स्थापना र विभेदरहित समाज निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै कुँवर यो अवार्डका लागि मनोनित भएकी हुन् । उनलाई यो अवार्डका लागि नेपालबाट अभियन्ता राधा पौडेलले सिफारिस गरेकी थिइन् ।
२०६० सालमा कैलाली जिल्लाको धनगढीबाट प्रकाशित हुने हाम्रो सेती साप्ताहिकको समाचारदाताबाट पत्रकारिता शुरु गरेकी कुँवर सामाजिक अभियन्ताको रुपमा समेत परिचित छन् ।
२०६४ सालदेखि धनगढीबाट मर्निङ् बेल नेपाली दैनिक पत्रिकाको प्रकाशन सम्पादन गर्दै आएकी उनी एक वर्षदेखि महिला खबर अनलाइनको सम्पादकका रुपमा कार्यरत छन् ।
उनी महिला मानवअधिकार रक्षक सञ्जालकी संस्थापक सदस्य तथा कैलालीकी उपाध्यक्ष पनि हुन् ।
लोग्शरी कुँवरलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि भोट मा क्लिक गरेर इमेल र पासवर्ड राख्नुस् । साइन अप हिअर फर भोटिङ (or Sign up here for voting) मा क्लिक गर्नुस् । त्यसपछि साइन अप (sign up) मा गएर आफ्नो नाम, ईमेल, देश (नेपाल), लिंग, फोन नम्बर, पासवर्ड राखेर आइ एम नट रोबोट (I am not robot) मा क्लिक गर्नुस् । विभिन्न चित्रहरु समावेश भएको पोष्ट आउँछ । त्यो पोष्टमा भएका एकै खालका चित्रलाई क्लिक गरेर भेरिफाइ (verify) मा क्लिक गर्नुस् र साइन अप(sign up) गर्नुस् । त्यसपछि आफ्नो इमेलको इन्बक्स वा स्पाममा एनपीसले पठाएको इमलेमा क्लिक हियर टू लगिन –Click Here to Login) गर्नुस् ।
के हो एनपीस अवार्ड ?
यूएनडीपीको थाइल्याण्डस्थित एसिया क्षेत्र हेर्ने कार्यालयले एसियाली क्षेत्रमा शान्ति निर्माण र समुदायको सशक्तिकरणमा उच्च योगदान पुर्याउँदै आएका व्यक्तिलाई सन् २०११ देखि एनपीस अवार्ड दिन शुरु गरेको हो ।
यूएनडीपीले ‘अनटोल्ड स्टोरी’, ‘क्याम्पेनिङ फर एक्सन’ र ‘द पीस जेनेरेशन’ क्याटागोरीमा हरेक वर्ष अवार्ड दिँदै आएको छ । यस अन्तरगत नेपाल, फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान, अफगानस्थान, म्यानमार र श्रीलंकालाई समेट्दै आएको छ ।
उनीसँगै नेपालबाट अन्य तीनजना महिला पनि यो अवार्डका लागि मनोनित भएका छन् । कैलालीकी आशा चौधरी, महोत्तरीकी सरिता कुमारी शर्मा र महोत्तरीकै संगिता ज्ञवाली मनोनित भएका छन् । महिलाखबर



Milan Shrestha । ११ आश्विन २०७५, बिहीबार १७:३८ बजे