समुदायमा छरिएर रहेको पुँजीको सदुपयोग गर्न आवश्यक छःपदमा खड्का


सुर्खेत, २१ पुस । एकका लागी सबै र सबैका लागी एक भन्ने मूल नाराका साथ लेकवेशी बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर– १० ले आफ्नो १२औं वार्षिक साधारण सभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न गरेको छ ।

सभाका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले समुदायमा छरिएर रहेको पुँजीको सदुपयोग गर्नुपर्ने धारणा राखिन् । लेकवेशी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याएको भन्दै उनले सहकारीका माध्यमबाट समाज रुपान्तरणमा अझै जोड दिनुपर्ने बताइन् ।

संस्थाका सञ्चालक समिति अध्यक्ष प्रेमबहादुर खड्काले लेकवेशीको शेयर पुँजी १४ लाख ७८ हजार पुगेको जानकारी दिए । विगतका वर्षहरुको तुलनामा सहकारीमा शेयर पुँजीमा बृद्धि हुँदै गएको उनले बताए । अध्यक्ष खड्काका अनुसार सहकारीले यो वर्ष मात्रै २ सय १४ जना नयाँ सदस्य थपेको छ ।

हाल २ सय ६२ सदस्य रहेको संस्थाले सञ्चालक समितिको नियमित बैठक, शेयर पुँजी, सदस्यता बृद्धि, बचत संकलन, ऋण परिचालन तथा असूली, शेयर लगानी, कर्मचारी व्यवस्थापनलगायतका कामलाई प्राथमिकता दिएको संस्थाका सचिव रामबाबु बिसीले बताए । ११औं साधारण सभाबाट पारित नीति तथा कार्यक्रममा रही सहकारीले विभिन्न गतिविधिहरु सञ्चालन गरेको उनले जानकारी दिए ।
साधारण सभामा सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्य, बचतकर्ता, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।