
जुम्ला, आश्विन २० ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा (आज) शनिवार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक केन्द्र रहेको स्मरण गर्नुभयो ।
‘कर्णालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि भोट र भारतसंग व्यापार गर्थ्यो ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘जुम्लाको व्यापारले गर्दा हिजोका दिनमा कर्णाली उत्पादन र अर्थतन्त्रमा आत्मानिर्भर थियो ।’ मुख्यमन्त्री शाहीले जुम्लालाई ठुलो अर्थतन्त्र भएका छिमेकी देश चिन र भारत जोडने द्रुतमार्ग निर्माण गरेर जुम्लालाई अन्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले ३ वटै तहका सरकारहरु विचको आपसी समन्वयमा मात्रै संघियतालाई सफल बनाउन सकिने तर संघीयताका विरुद्ध प्रतिगामी शक्तिहरुले विभिन्न भ्रम श्रृजना गर्ने गरेकोले स्थानीय तहका सरकारहरु त्यसता भ्रमवाट सचेत हुनुपर्ने बताउनुभयो ।
कर्णालीको विकासका कर्णालीमा रहेको श्रोत साधनको उपयोग गरेर जनताको अपेक्षा वमोजिम छोटो समयमै समृद्धि हाँसिल गर्न लागि प्रदेश सरकार स्थानीय तहसंग हातेमालो गरेर अगाडि बढन चाहेको बताउनुभयो ।
‘तपाईहरु निराश नहुनुस, युद्धले ध्वस्त भएका जापान, चिन, कोरिया लगायतका देशहरु छोटो समयमै समृद्धिको शिखरमा पुगेका छन ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘तपाई हामी पनि दृढ ईच्छाशक्तिका साथ अगाडि बढ्यौं भने हाम्रो विकास र समृद्धि कसैले रोक्न सक्दैन ।’
समृद्धिको लागि उत्पादन अपरिहार्य भएको बताउदै मुख्यमन्त्री शाहीले उत्पादनमुलक योजना वनाउन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उहाँ ‘फापर, स्याउ र आलु वेचेरै हामी धनी हुन्छौं, चाउचाउको पछि नलाग्न जनतालाई अपिल गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय तहलाई आवश्यक कानुन छिटै तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघीय सरकारले कानुन निर्माणको काममा ढिलाई गर्दा प्रदेश सरकारलाई कानुन निर्माणमा अफ्ठ्यारो भएको मन्त्री भण्डारीको भनाई छ ।
स्थानीय तहका सरकार जनतासंग सिधै जोडिएको कारण सेवा प्रवाह र विकास निर्माण कार्यलाई पारदर्शी, छिटोछरितो र सहज ढंगले अगाडि वढाउन मन्त्री भण्डारीले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । ‘तपाईहरुमा भुरेटाकुरे राजाको दम्भ नपलाओस ।’ स्थानीय जनप्रतिनिधिहरुका वारेमा जनताले गुनासो गर्न थालेको बताउदै मन्त्री भण्डारीले भन्नुभयो –‘आफ्नो धरातल हेर्नुस, जनताले तपाईहरुवाट शासन होईन सेवा पाउन निर्वाचित गरेका हुन ।’
मन्त्री भण्डारीले समृद्ध कर्णालीको सपना धेरै टाढा नरहेको बताउदै उत्कृष्ट वडा, गाँउ, नगर र जिल्ला निर्माणका लागि प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा जुम्लाका आठ वटै स्थानीय तहका प्रमुखहरुले आफनो क्षेत्रमा भएका विकास निर्माण तथा समस्याहरुको वारेमा रिपोर्टीङ्ग गर्नुभएको थियो ।
प्रमुखहरुले प्रदेश सरकारले स्थानीय तहका कानुन निर्माणमा ढिलाई गरेका कारण समस्या भएको गुनासो गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री, प्रदेश सभा सदस्य दिनवन्धु श्रेष्ठ, कुर्मराज शाही, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी प्रमुख सिताराम रिजाल लगायतको सहभागिता रहेको थियो ।



Milan Shrestha । २० आश्विन २०७५, शनिबार १९:५८ बजे