शिक्षकमाथि वडाअध्यक्षले कुर्सी हानेपछि…


कार्तिक २१ प्यूठान : झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले शिक्षकमाथि कुर्सी प्रहार गरेका छन्। वडाअध्यक्ष बस्नेतले जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई कुर्सीले हानी घाइते बनाएका हुन् । एमसीको टाउकोमा पाँचवटा टाका लगाइएको छ ।

मंगलबार विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन हुँदा अध्यक्ष बस्नेतले हातपात गरी कुर्सीले प्रहार गरेको एमसीले आरोप लगाएका छन्।  उनले जिल्ला अस्पताल विजुवारमा पुगी उपचार गराएका छन् ।

 यसअघि पनि अध्यक्षले आफूलाई समय–समयमा गालीगलौज गर्ने गरेको शिक्षक एमसीले बताएका छन् । विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माविमा पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् ।

वडाअध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए । उनीसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन् । गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा आफूलाई बुधवार बिहानमात्र जानकारी भएको प्रक्रिया दिए । उनले घटनाको विषयमा दुवै पक्षसँग छलफल गरेर समाधान खोजिने बताए । अन्नपूर्णपोष्टबाट