संघियता सफल बनाउन सबै संरचना निर्माण हुन जरुरीः रक्षामन्त्री पोखरेल


मंसिर ४, सुर्खेत ।

संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले संघियता सफल बनाउन केन्द्रदेखि स्थानिय तहसम्म संचरनाहरु निर्माण हुन जरुरी रहेकाे बताउनुभएको छ । सडक उद्घाटन गर्न डोल्पा जाने क्रममा सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

संघियताको पूर्ण कार्यन्वयन भइनसकेका कारण संविधान अनुरुप सरकारले सबै काम गर्न नसकेको उहाँले दाबी गर्नुभयो । राजनीतिक क्षेत्रमा संघियता कार्यन्वयन भइसकेपछि वित्तिय र प्रशासनिक क्षेत्रमा पूर्ण रुपमा कार्यान्वयनमा आइनसकेको बताउनुभयो । लामो समयपछि जनप्रतिनिधि आउनु र संरचना बनीनसकेका कारण पनि सरकारको काममा ढिलाई देखिएको उहाँको भनाइ छ । पूर्ण रुपमा संरचना नबनेकै कारण पनि प्रदेशहरुले सबै अधिकारको उपभोग गर्न नपाएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता समेत रहनुभएका पोखरेलले पार्टी एकिकरणको पनि प्रदेश र जिल्लास्तरमा छिट्टै टुंगो लगाइने दाबी गर्नुभयो । केन्द्रमा सबै टुंगो लागिसक्यो, प्रदेश र जिल्लाको प्रक्रियामै रहेकोले केही आन्तरिक समस्या समाधान गरी छिट्टै सबै तहसम्म पार्टीको एकिकरण टुंगो लाग्ने उहाँले बताउनुभयो ।