
कालीकोट, १० मंसिर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विकासका कार्यहरु ‘डोनर’ले नभई जनताले गर्ने वताउनुभएको छ । जिल्ला समन्वय समिति कालीकोटद्धारा आयोजित दोश्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलवन्द गर्नुपर्ने वताउनुभयो ।
स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘तपाई हामीलाई जनताले सरकारमा पठाएका हुन, हामी जनतातिरै फर्कनुपर्छ ।’ विकास अभियानमा दातृनिकायको सहयोगी भुमिका मात्र हुने वताउदै जनतालाई साथमा नलिई विकास र समृद्धिको अभियान पुरा नहुने उहाँको भनाई छ ।
मुख्यमन्त्री शाहीले नकारात्मक सोच र राजारजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने वताउदै जनप्रतिनिधिहरु जनताको सेवकका रुपमा रहनुपर्ने धारणा राख्नुभयो ।
कालीकोटको मात्र नभई सिंगो कर्णालीको विकासका लागि आफुले आर्थिक श्रोतको अभाव हुन नदिने वताउदै मुख्यमन्त्री शाहीले श्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन आग्रह गर्नुभयो । ‘जनतालाई उत्पादनमुलक काममा नजोडी समृद्धि प्राप्त हुदैन ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘कृषि, उद्योग, पर्यटन, जडिवुटी लगायतका क्षेत्रमा उत्पादनमुलक योजना निर्माण गरेर काममा लाग्नुस ।’
कर्णालीको योजनावद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको वताउदै मुख्यमन्त्री शाहीले नतिजामुखी र नमुना काम गर्ने अठोट व्यक्त गर्नुभयो । प्रदेश योजना आयोगले प्रदेशको वहुआयामिक विकासको लागि अल्पकालीन र दिर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको वताउदै मुख्यमन्त्री शाहीले तिनवटै तहको सहकार्यमा कर्णालीको विकास अभियान अगाडि वढ्ने वताउनुभयो ।

विकटता र गरिविले चिनिएको कर्णालीलाई सुन्दरता र सम्भावनाको कर्णालीको रुपमा परिचित गराउन वर्षको आरम्भमै प्रधानमन्त्रीलाई रारामा वोलाएको वताउदै मुख्यमन्त्री शाहीले कर्णालीको विकास केन्द्र सरकारको समेत प्राथमिकतामा रहेको वताउनुभयो ।
सभामा वोल्दै स्थानीय तहका जनप्रतिनिधिहरुले कर्मचारी अभावको कारण आफुहरुलाई काम गर्न गाह्रो भएको गुनासो गरेका छन । कर्मचारी आपुर्तीमा केन्द्र सरकारले उदासिनता देखाएको भन्दै जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन ।
यसैगरि जिल्ला सभा सफलताको शुभकामना दिदै जिल्ला स्थित राजनैतिक दलका नेता तथा नागरिक अगुवाहरुले कालीकोटको विकास र समृद्धिको लागि सुनथराली विमानस्थलमा हवाई यातायात सुचारु गर्नुपर्ने, कर्णाली लोकमार्गको स्तरोन्नती र सडक पुल निर्माण कार्य तत्काल पुरा हुनुपर्ने, गुणस्तरीय रोजगारमुलक शिक्षाको व्यवस्था गर्नुपर्ने, साना तथा मझौला उद्योगहरुको विकास गर्नुपर्ने, पर्यटन र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्य जिवन वुढा, नरपति सुनार, प्रदेशसभा सदस्य कुर्मराज शाही र सोशीला शाही लगायतको उपस्थिति रहेको थियो ।



Milan Shrestha । १० मंसिर २०७५, सोमबार २०:३९ बजे