
१२ मंसिर, सुर्खेत ।
‘रारा कर्णाली पर्यटन वर्ष२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे-फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवर्धन कार्यक्रममा भाग लिनुभएको छ । उहाँले २ दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई संबोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले बुधबार विहान डोल्पाको शे-फोक्सुण्डो तालको किनारामा आयोजित शे-फोक्सुण्डो पर्यटन प्रवर्धन कार्यक्रमलाई संबोधन गर्नुभयो । कार्यक्रममा उहाँले शे-फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपिल गर्नुभयो । ‘कर्णाली गरिब होइन धनी प्रदेश हो । आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो’, उहाँले भन्नुयो, ‘कर्णाली धनी छ । स्वर्गको परी जस्तो शे-फोक्सोण्डो यहीं छ । सबैसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ ।’
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षे कर्णालीको पर्यटन प्रवर्द्धन हुने बताउनुभयो । ‘अब कर्णालीलाई सबैले चिन्नेछन् । सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछन् । यहाँको भ्रमण गर्नेछन्,’ उहाँले भन्नुभयो, ‘कर्णालीलाई धेरैले अझै पिछडिएको, गरिब प्रदेश भनेर चिन्छन्, तर अब हामी पर्यटन विकासका माध्यामबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौँ ।’

यसैवीच उपराष्ट्रपति पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तरगत स्नातक तह मिडआईफेरी र त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्दघाटन गर्नुभएको छ ।

कर्णालीमा आयोजित कार्यक्रमहरुलाई संबोधन गर्दै उहाँले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताउनुभयो । उनले कर्णालीको समृद्धिको आधार कृषि, पर्यटन र जडिबुटी भएको बताउँदै त्यसको प्रवर्धनको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।




Milan Shrestha । १२ मंसिर २०७५, बुधबार १८:५३ बजे