पुर्वाधार निर्माण मात्रै विकास होइन–सभामुख शाही


मंसिर १४, सुर्खेत ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पुर्बाधार निर्माण हुनु मात्र विकास नभएको बताउनु भएको छ । पुर्बाधार सँगसँगै सामाजिक रुपान्तरका अभियानहरु सञ्चालन भएमात्र सन्तुलित विकास हुने उहाँको भनाइछ । प्रदेशको राजधानि वीरेन्द्रनगरमा आयोजीत नीति सम्बाद कार्यक्रमा बोल्दै सभामुख शाहीले प्रदेशमा कानून निर्माणको क्रममा नागरिक अभियान्ताहरुको राय सुझाव बिगतमा पनि लिने गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिइने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नीति सम्बाद कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले मूलुकको राजनीतिक ब्यबस्था परिबर्तनमा नागरिक समाजको महत्वपूर्ण रहेको भन्दै जनजीविका र नीति निर्माणमा पनि नागरिक समाजको थप महत्वपूर्ण भूमिका रहने बताउनुभयो । प्रदेश सरकारले केही नीति पास गरेको, केही प्रक्रियामा रहेको र केही जन्मिने क्रममा रहेको जानकारी दिदै यसमा सुझाव लिने क्रमले निरन्तरता पाइरहेको बताउनु भयो । सामाजिक न्याय सहितको समृद्धिका लागि नागरिक समाजले थप भूमिका निर्बाह गर्न समेत मन्त्री रावलले आग्रह गर्नुभयो ।

कर्णाली फाउन्डेसनका अध्यक्ष नारायण प्रसाद भट्टराइले राजनैतिक नेताहरु असल ब्यबस्थापक हुन नसकेको भन्दै नीति निर्माण प्रक्रियामा नागरिकहरुको पनि सहभागिता गराइनु पर्नेमा जोड दिनुभयो ।

कर्णाली फाउन्डेसनको आयोजना तथा सुन्दर नेपाल संस्थाको समन्वयमा आयोजित दुइदिने नीति सम्बाद कार्यक्रमको पहिलो दिन नागरिक समाजका अगुवा तथा शुसासन बिज्ञ सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै सरकारले बजेट पठाउने, कर्मचारीले टेन्डर जारी गर्ने र ठेकेदारले विकास गर्ने चलनको अन्त्य नभएसम्म विकास सम्भव नहुनेमा जोड दिनुभयो । उहाँले नागरिकले अनुभुति गर्न सके मात्रै विकास हुने भएकाले विकासको बुझाईमा एकरुपता ल्याउन जरुरी भएको औंल्याउनु भयो ।