
मंसिर २१, सुर्खेत ।
इम्पेटस टेक्नोलोजी नेपाल प्रालिले सूचना प्रविधिको प्रयोग गरि सामुदायिक विद्यालयको व्यवस्थापन र अनुगमन चुस्त–दुरुस्त राखि शैक्षिक गुणस्तरमा सुधार ल्याउने पद्धतिको विकास गरेको छ । इम्पेटसले नेपालमै पहिलो पटक विद्यालय व्यवस्थापन र अनुगमनको काम गर्ने स्प्रा एकाडेमिक इआरपी सिस्टम निर्माण गरेर त्यसको कार्यान्वयनबाट गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाएको हो ।
इम्पेटसले शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पर्क कार्यालयको उद्घाटन समारोहका अबसरमा सो कुरा बताएको हो । कर्णाली प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर सामुदायीक विद्यालयहरुको शैक्षिक सुधारको क्षेत्रमा काम अघि बढाइने इम्पेटस टेक्नोलोजी नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर जीवन गुरागाईले जानकारी दिनुभयो ।
संघिय राजधानीमा प्रधानकार्यालय रहेको इम्पेटसले यसअघि नै प्रदेश नम्बर १, २ र ५ मा कार्यालय स्थापना गरि काम सञ्चालन गरिरहेको छ भने हाल सम्म दर्जन बढी स्थानीयतहसँग समन्वय गरि १ सय भन्दा बढी विद्यालयमा स्प्रा एकाडेमिक इआरपी सिस्टम जडान गरिसकेको गुरागाईंले जानकारी दिनुभयो ।
कम्पनीका सिइओ रविन कोइरालाकाअनुसार एसपीआरए(स्प्रा) एकाडेमिक सिस्टमको जडान पछि कुनै पनि अविभावकले घरमै बसेर आफ्नो बच्चा विद्यालय पुग्यो–पुगेन, हाजिर तथा गृहकार्य ग¥यो–गरेन भनेर थाहा पाउन सक्ने तथा घरमै बसेर शिक्षक र जनप्रतिनिधिलाई सुझाव समेत दिन सक्नेछन् । यस्तै शिक्षकले गृहकार्य जाँच गरेको र हाजिर गरेको वा नगरेको समेत थाहा पाउन सकिने उहाँको भनाई छ । यसैगरि कुनै पनि विद्यार्थीको हरेक दिनको रिजल्ट तयार हुने भएकाले अविभावकले चाहेको अवस्थामा विश्वको जुनसुकै ठाउँबाट डाटा प्रयोग गरेर हेर्न सक्नेछन् ।
स्प्रा एकाडेमिक सिस्टमले विद्यार्थीको स्वास्थ्य अवस्था, भाषागत शुद्धता, अनुशासन, सिकाई क्षमता, अतिरिक्त क्रियाकलापमा रुची तथा सहभागिता, बहुप्रतिभा एवम् परीक्षाको प्राप्ताङ्क सहितलाई विश्लेषण गरेर रिजल्ट तयार पार्ने कोइरालाले सो अबसरमा जानकारी दिनुभयो । कुनै बच्चाको रुची के छ ? अनि उ कुन बाटोमा गइरहेको छ ? उसलाई भविश्यमा के पढाउँदा ठीक हुन्छ भन्ने सम्मको विश्लेषण गरेर ग्रेडिङ सिस्टममा समेत रिजल्ट तयार हुने उहाँको भनाइ छ ।
यो प्रविधिबाट जनप्रतिनिधिले समेत आफ्नो कार्यालयमै बसेर नगर तथा गाउँपालिका भरिका विद्यार्थीहरुको उपस्थिति, शिक्षकको उपस्थिति लगायतका कुरा अनुगमन गर्न सक्ने उहाँको भनाई छ । यो सफ्टवेयर जडान गरेपछि विद्यार्थी संख्या बढी देखाएर विभिन्न सेवा सुविधा लिने प्रवृतिको अन्त्य भई राज्यको ढुकुटी रित्तिने कार्यमा पनि कमि आउने समेत कोइरालाको दाबी छ ।
नीजि विद्यालयबाट निकै माग भई आए पनि तत्काल यो सफ्टवेयर नीजि विद्यालयलाई नदिएर सरकारी विद्यालयमा मात्र जडान गर्ने कम्पनीको नीति रहेको भन्दै कम्पनीले विद्यालयहरुमा आफ्नै सर्वर विकास गरेर काम गर्ने भएकाले यस प्रकारको प्रविधि नेपालमा यो नै एक मात्र भएको सीइओ कोइरालाको दाबीछ ।



Milan Shrestha । २१ मंसिर २०७५, शुक्रबार १६:२१ बजे