पुस २, सुर्खेत । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति आपत्ती प्रकट गरेको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) कर्णाली प्रदेशले आज सोमबार कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव कलानिधि पौडेललाई सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ, ‘सरकारले एकलौटी आफुखुशी कर्मचारी समायोजन अध्यादेश ल्याएको नेपाल निजामती कर्मचारी युनियन (संघ) कर्णाली प्रदेश अध्यक्ष नृपजंग शाहीले बताउँदै संविधान र संसद्लाई छलेर ल्याएको अध्यादेशलाई सच्याईनु पर्नेमा जोड दिनुभयो ।
उनका अनुसार कर्मचारी समायोजना अध्यादेश ल्याउँदा लोकसेवा आयोगको परामर्शलाई समेत लत्ताईएको छ । ‘कर्मचारीसँग विना छलफल गरी ल्याएको अध्यादेश न सच्चाईए त्यसका विरुद्धमा कर्मचारी आन्दोलित हुन बाध्य हुने छन्,’ मुलुकको परिवर्तनका लागि निजामती कर्मचारीले ठूलो भूमिका खेलेको तर अहिले केही प्रशासकको इसारामा सरकारले उक्त अध्यादेश ल्याएको अध्यक्ष शाहीले जिकिर गर्नुभयो ।’
अध्यक्ष शाहीले उक्त अध्यादेश मार्फत प्रदेश र स्थानीय तहका कर्मचारीलाई पजनी गर्ने षडयन्त्र भईरहेको र कर्मचारीको नाममा भ्रम सिर्जना गरेर बद्नाम गर्ने काम सरकारबाटै भएको आरोप लगाउनुभयो ।



Prawash Kumar Shakya । २ पुष २०७५, सोमबार २१:०१ बजे