आगलागि पीडितलाई नगद सहित सामाग्री बितरण गरिने


पौष ९, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको खाडामा भएको आगजनीबाट पीडितलाई तत्काल राहत स्वरुप प्रति घरपरिवारलाई २० हजार रुपैयाँ नगद र खाद्यान्न तथा कपडा सहयोग गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्णय अनुसार नगद, राहत सामाग्री सहित तत्काल हेलिकोप्टर लिएर घटनास्थलमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री मार्फत राहत वितरण गरिने समेत निर्णय गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रमूख स्वकिय सचिव खेमबहादुर सिंहका अनुसार पीडितहरुलाई तत्कालका लागि नगद सहित सामाग्री लिएर जाने तयारी भइरहेको छ, थप राहतको ब्यबस्थाका लागि पनि प्रयास जारीरहेको छ ।
कर्णाली कला साहित्य प्रतिष्ठानले पनि कालीकोटको आगलागिबाट पीडित खाडावासीका लागि सुर्खेतमा राहत संकलन अभियान सञ्चालन गरिएको र इच्छुक मनकारी महानुभावहरुलाई यो कठिन अबस्थामा सक्दो सहयोग गरिदिन प्रतिष्ठानका अध्यक्ष कटकबहादुर बमले पनि आग्रह गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम सहितको टोलीले राहत संकलन तथा तत्कालका लागि ब्यबस्था जुटाउने अभियानमा लागि परेको बताइएको छ भने अध्यक्ष बम बिहान ८ बजे संघिय राजधानि जाने काम थाति राखी आगलागिबाट पीडितहरुको सहयोगमा सक्रिय रहेको जनाइएको छ ।