कर्णाली प्रदेश कपको उपाधि सुर्खेतले जित्यो


१७ पौष । कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई १४ रनले पराजित गर्दै सुर्खेतले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको जाजरकोटले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । उसका लागि भविन सारु मगरले नट आउट ४० र टेक सलामीले पनि ४० रन बनाए । जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिएका थिए ।

१ सय ६१ रनको लक्ष पछ्याएको जाजरकोटले १ सय ४६ रन मात्र बनाउन सक्यो । पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जाजरकोटले उक्त योगफल खडा गरे पनि जित भने हासिल गर्न सकेन ।

जाजरकोटका लागि पदमराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा लक्ष्य अनुसारको रन जोड्न सकेनन् । सुर्खेतका कप्तान रविन्द्रजंग शाहीले चार तथा ललित प्याकुरेलले दुई विकेट लिए ।

विजेता सुर्खेतले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता जाजरकोटले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिए ।

प्रतियोगिताको म्यान अफ द सिरिज कालिकोटका सुनिल भण्डारी, बेष्ट ब्याट्सम्यान सुर्खेतका रविन्द्रजंग शाही, बेष्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र लोकल इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए ।

उनीहरुलाई ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

गत पुस १० गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उद्घाटन गरेको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए ।

यस प्रतियोगितालाई कर्णाली प्रदेशकै ठूलो क्रिकेट प्रतियोगिता भएको आयोजक जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ । साथै हरेक वर्ष निरन्तर रुपमा संचालन गरिने जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष बाँठामगरले बताए ।

अन्नपूर्णपोष्ट अनलाइनबाट