
१७ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताउनुभएको छ । ख्रीष्टमस तथा नयाँवर्ष २०१९ को शुभारम्भ अवसरमा ईसाई समाज, सुर्खेतद्वारा आयोजित‘ शुभकामना आदानप्रदान’ कार्यक्रम उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदै मन्त्री रावलले मुलुकमा सबै धर्मको अधिकार समान रहेको बताउनुभयो । “राज्य सबै धर्म, जाति, भाषिक, वर्ग, लिङ्ग, उत्पीडित, उपेक्षित, अल्पसंख्यक र सीमान्तकृतहरुको अभिभावक हो,”मन्त्री रावलले भन्नुभयो, “सबैलाई समान ढंगले संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्दछ ।” कर्णालीप्रदेश सरकारले सबै धर्मावलम्बीहरुलाई समान व्यवहार गर्दै आएकोउहाँको भनाई थियो ।
कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले राज्यको कुनै धर्म नहुने तर्क गर्नुभयो । “सबैले आ–आफ्नै आस्था, विश्वास र भरोसामा बाँच्न पाउन् भन्ने ध्येयले संविधानमै मुलुक धर्मनिरपेक्ष राज्य घोषणा भईसकेको छ,” सदस्य विष्टले भन्नुभयो, “यद्यपि धार्मिक अतिवादकोही कसैकालागि स्वीकार्य हुन सक्दैन ।”
कार्यक्रममा प्रदेशसभा सदस्य सीता नेपालीले बलिदानको जगबाट आजको परिवर्तन संभव भएको बताउनुभयो । “परिवर्तन सजिलै भएको छैन,” सदस्य नेपालीले भन्नुभयो, “शोषण र दमन विरुद्ध नेपाली जनताले बगाएको रगत पसिनाले संविधानको जन्मसँगै अधिकार प्राप्तभएको छ ।”
प्रदेशसभा सदस्य राजु गुईदेलले मुलुक संघीय संरचनामा गईसकेकोले सबै नेपालीका अधिकार संस्थागत गर्न सकिए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली ’महाअभियान पुरा हुने उहाँको भनाई थियो ।
ईसाइ समाज केन्द्रीय समितिका महासचिव डिल्लीराम पौडेलले मानिसको भित्री परिवर्तनले मात्र देशको परिवर्तन संभव रहेको दावी गर्नुभयो । “धार्मिकता नरुचाउने र आफ्नो भलो चाहनेहरु ईसाइ बढ्दा डराउँदै गएका छन्,”महासचिव पौडेलले भन्नुभयो, “यो देशको असल नागरिकहरु ईसाई नै हुन् ।”
यता राप्रपाका कर्णालीप्रदेश प्रमुख जनकसिंह ठकुरीले मुलुकमा सबै धर्म बराबर भएको बताउनुभयो । कार्यक्रममा ईसाई समाजका अध्यक्ष पदम गैर, रेभ.पास्टर शामुएल कार्थक, अधिवक्ता बुद्धि घिसिङ लगाएतले धार्मिकताले देश उचाल्ने बताउनुभएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त गायिका अञ्जु पन्त, विनोद लामालगाएतका कलाकार तथा कर्णाल प्रदेशका ईसाइ धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।



Milan Shrestha । १७ पुष २०७५, मंगलवार २०:५५ बजे