
कालिकोट २६ पुस ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आयोजनामा कालिकोटका नौ वटै स्थानीय तहमा एकता सन्देश कार्यक्रम सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिकामा नेकपा प्रदेश सदस्य नगिन्द्र शाही नेशनल र लक्ष्मीप्रसाद चौलागाईं नेतृत्वमा सुरु भएको अभियान बिहीबार कालिकोटको सान्नी त्रिवेणी बाट समापन भएको हो ।
सुरुमा नेकपा कर्णाली प्रदेश संगठन कमिटी अध्यक्ष गोरख बहादुर बोगटी मार्फत जिल्ला स्तरीय भेला र पार्टी कार्यालय उद्घाटन पश्चात् पालिका स्तरमा प्रदेश सदस्यहरुको नेतृत्वमा अभियान चलेको नेकपाले जनाएको छ ।
अभियानको अन्तिम दिन सान्नी त्रिवेणीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश सदस्यद्वय यसोधा न्यौपाने (पूर्णिमा) र वीरेन्द्र बोगटी तथा कालिकोटका युवा नेता चित्रसिंह गाउँलेले नेकपाले अब लगत्तै देशभरका ३ लाख कार्यकर्तालाई प्रत्यक्ष र १२ लाख कार्यकर्तालाई अप्रत्यक्ष रुपमा कमिटीमा व्यवस्थापन गरिसक्ने धारणा राख्नु भयो ।
२००६ सालमा नेकपा स्थापना हुँदा जुन लक्ष्य र उद्धेश्य राखेको थियोे त्यही उद्धेश्य रहेका सिद्धान्त मिल्ने पार्टीहरु बिचको एकता भएका कारण एमाले र माओवादी केन्द्र बिचको एकता मजबुत रहने उहाँहरुको दाबी थियोे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाही, नेकपा नेताहरु महेश केसी, पार्वती सिंह, शैलाजा वम, कृष्णकला पाण्डे, ललिजन वम लगाएतले सम्बोधन गरेको वताइएको छ ।



Milan Shrestha । २६ पुष २०७५, बिहीबार १८:५१ बजे