साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो। साउनभरी माछामासु, लसुन प्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ।
विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ। साउन लाग्न नपाउँदै महिला हरियो/रातो/पहेँलो चुरा, पोते, मेहेन्दी लगाएर सजिएको देख्न पाइन्छ। पछिल्लो समयमा हरियो चुरा, मेहन्दी फेसन बनेको छ जसले बालिका, युवती, वयस्क सबै उमेर समुहका महिलामा हाबी छ।

अरु समयमा यी कुराको महत्व नभए पनि साउनमा भने विशेष मानिन्छन् र महिला यीनैमा झुम्मिन्छन्। साउनमा चुरा व्यापारीलाई भ्याई नभ्याई हुन्छ। उनीहरु बिहानदेखि साँझसम्म चुराको कारोबार गरिरहेका भेटिन्छन्। बाटामा समेत हरियो चुरा, मेहन्दी राखेर बिक्री गरिरहेको देख्न सकिन्छ। न्यूरोड, सुन्धारा, गौशाला, लगनखेललगायतका व्यापारी केन्द्रका फुटपाथमा पनि थुप्रै साना व्यापारी चुरा बेच्न बसेका छन्।
न्यूरोडमा चुराको होलसेल व्यापार गर्ने राजीव शाहलाई यति खेर पानी खाने फुर्सद छैन। उनी भन्छन्, ‘यो महिना त हामी अरु सबै सामान थन्क्याएर हरियो, रातो, पहेँलो चुरा र पोतेमै फोकस गर्छौँ। खुद्रा व्यापारी र ग्राहकलाई सामान दिन भ्याइँदैन। साउन हामी चुरा व्यापारीका लागि दशैँ हो।’

त्यस्तै किर्तीपुरमा कस्मेटिक पसल चलाउने बिमला महर्जन अरुबेला चुरा धेरै नबिक्ने भएपनि यो महिना माग धेरै आउने बताउँछिन्। ‘अरु बेला म खासै चुरा बेच्दिन। ग्राहक कम हुन्छन्। तर साउनमा त हरियो चुरा नल्याए त कामै हुन्न। अरुबेला दैनिक एकदुई दर्जन गएपनि अहिले २५/३० दर्जनभन्दा बढी बिक्छ।’

त्यस्तै सानो भर्याङमा १० वर्षदेखि कस्मेटिक पसल संचालन गर्दै आएकी शर्मिला राना पनि सधैँ साउनमा आफ्नो पसलमा घुँइचो बढ्ने बताउँछिन्। ‘म त साउन लाग्नुअघि नै सामान ल्याइसक्छु। यो समय धेरै बिक्ने हुनाले नाफा पनि हुन्छ। साना नानीलाई हुनेदेखिको चुरा बिक्छ। विवाहितले त चुरा प्राय लगाउँछन् नै, अहिले अविवाहित महिलाले धेरै जसो चुरा किन्न आउँछन्,’रानाले भनिन्।

साउनमा हरियो चुराका साथमा राता र पहेँलो चुरा मात्र नभएर पोते, मेहेन्दी लगाउने पनि चलन छ। चुरा पसलमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा मेहन्दी बेच्न र लगाइनदिन बसेका व्यापारीथ थुप्रै भेटिन्छन्। न्यूरोड, असनका बाटा र पार्लरको कोठासम्म मेहेन्दी लाउनेको घुँइचो देख्न सकिन्छ।
काठमाडौँमा चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाटै ल्याइने व्यापारी बताउँछन्। भारतबाट तराइ हुँदै चुरा काठमाडौँ ल्याइन्छ।
बजारमा काँचका, प्लाष्टिकका, धातु (मेटल)का चुरा पाइन्छन्। पहिले पहिले काँचका चुराको प्रचलन बढी थियो भने अहिले आएर प्लाष्टिक र मेटलको माग बढेको छ। नफुट्ने र धेरै टिक्ने हुनाले यसको मागमा वृद्धि भएको हो।
बजारमा अहिले बुट्टा र गुणस्तरको आधारमा सामान्य काँचको चुराको ३० रुपैयाँ प्रतिदर्जन देखि १५० रुपैयाँसम्म पर्छ।
त्यस्तै प्लाष्टिक र मेटलका चुराहरु भने तुलनात्मक रुपमा महंगो हुने व्यापारी बताउँछन्। प्लाष्टिकका चुरा ५० रुपैयाँ प्रतिदर्जनदेखि २ सय रुपैयाँ प्रतिदर्जनसम्म पर्छ। नफुट्ने र धेरै टिक्ने हुनाले मेटलका चुराको मूल्य भने बढी नै रहेको छ।
.jpg)
मेटलका चुराहरु दर्जनको हिसाबले भन्दा पनि सेटमा आउँछन्। यस्ता सेट चुरा ६० रुपैयाँदेखि सुरु हुन्छ। सामान्यरुपमा बजारमा काँचका ३० रुपैयाँ प्रतिदर्जन र मेटलका १ सयदेखि ५ सयसम्मका चुराको माग भएको व्यापारीको भनाइ छ।
साभार : सेताेपाटी



Milan Shrestha । १ श्रावण २०७३, शनिबार ०८:०३ बजे