जुम्लामा बै‌ङ्क कर्मचारीहरुद्वारा संयूक्त रक्तदान


दिलमाया शाही

२८ पौष, जुम्ला । जुम्ला सदरमुकाम खलंगामा रहेका बैंकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तदान कार्यक्रम गरेका छन् । सिटिजन्स बैंक, बैंक अफ काठमाण्डु, नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी,लगायतका बैंकहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न बैंकमा कार्यरत कर्मचारीहरुले रक्तदान गर्नुभएको थियो  ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्त सञ्चार केन्द्रको स्थापना भएपछि बैंकहरुले संयूक्तरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकका प्रवन्धक एकराज महतले सहजै रुपमा विरामीले रगत पाउन भन्नका लागि पहिलो पटक जुम्लामा बैंकहरुले रक्तदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो रक्तदान कार्यक्रमले जुम्लाका बिरामीलाई ठुलो राहत पुग्ने छ । रगतको अभाव हुन नदिनको लागि सदैव बैंकहरु मिलेर रक्तदान कार्यक्रम गर्ने योजना बनाएका छौँ ।”

बैंकहरुको पहलमा गरिएको रक्तदान कार्यक्रमले जुम्ला अस्पताललाई ठुलो सहयोग पुगेको प्रतिष्ठानले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागि हुन सवै कर्मचारी उत्साहित थिए । नेपाल इन्भेष्टमेण्ट बैंकका कर्मचारी जयलाल कठायतले रक्तदान गर्नु कर्मचारीको ठुलो अवसर भएको बताउनुभयो ।

“बैंकले आर्थिक कारोवार मात्रै गर्दैन्, आवश्यक परेको बेला रक्तदान पनि गर्छ भन्ने सन्देश जुम्लाका बैंकहरुले छर्न सफल भएका छन् । यहाँका विरामीको अवस्थालाई दृष्टिगत गर्दै आगामी दिनमा निरन्तर रुपमा सिर्जनात्मक क्रियाकलापमा सहभागि भईरहने कठायतले बताउनुभयो ।

रक्तदान कार्यक्रममा करिव २ दर्जनले रक्तदान गरेका थिए ।