दिपक सिंह हत्या प्रकरण


माघ,२ कोहलपुर (बाँके) । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रममा बुधवार बाँकेको कोहलपुर क्षेत्रमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका युवराज गिरी घाइते भएको प्रदेश नम्बर–५ का प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको बताइएको छ । २१ वर्षीय गिरीको बाँया खुट्टामा गोली लागेको छ । पुष २६ गते प्रहरी सहायक निरीक्षकको परीक्षामा सहभागी हुन आएका सुर्खेतका दिपक सिंहको कोहलपुरमा घाटी रेटेर हत्या गरिएको थियो ।
सिंहको घाँटी रेटेर कर्तव्य गरेको घट्नामा युवाराज गिरी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि बुधवार उनलाई नियन्त्रणमा लिँदा गोली चलाउनु परेको प्रहरीले जनाएको । हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई मंगलवार राती सुर्खेतको पलाँटे बजारबाट पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मुख्य योजनाकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै उनीसँग डेढ लाख रुपैयाँ लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो । सोही विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई घाँटी रेटेर, चुप्पी प्रहार गर्दै विभत्स तरिकाले हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

साभारः सदरलाइनडटकम ।