नेकपा कार्यदलले बनाउन सकेन मापदण्ड


माघ ३, काठमाडौ

पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् ।गत पुसमा बसेको स्थायी समिति बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताकोबाँकी काम लम्बिएको हो ।

स्थायी समितिले संगठन एकतासम्बन्धी प्रस्ताव तयार गर्न रामबहादुर थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो । पुसभित्र प्रस्ताव बनाई एकताको काम सक्ने भनिएको थियो । तर कार्यदलकै नियमित बैठक बस्न सकेको छैन । ‘केही बैठक भएका छन्, छलफल पनि चलिरहेको छ, व्यस्तताका कारण सबै काम सकिएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले भने ।

प्रदेश कमिटीहरूमा रहने सदस्यका नामबारे पार्टीभित्र विवाद छ । यही विवादलाई कार्यदलले मिलाउन नसकेको हो । यसअघि सचिवालयले प्रदेश कमिटीहरू चयन गरेको थियो । त्यसमा रहने व्यक्ति छनोटको मापदण्ड एउटै नभएको, आफूनिकटकालाई मात्र जिम्मेवारी दिइएको भन्दै स्थायी समिति सदस्यले आपत्ति जनाएका थिए । वरिष्ठता र पार्टीभित्रको योगदानलाई कदर नगरिएको भन्दै प्रदेशस्तरमा पनि असन्तुष्टि चुलिएको थियो । त्यसैले चयन गरिएका नाममाथि पनि पुनर्विचार गर्ने र एउटै मापदण्डबाट सदस्य छनोट गर्ने गरी स्थायी समितिले कार्यदललाई मापदण्ड बनाउन जिम्मेवारी दिएको थियो ।

तर यसअघि सिफारिस भइसकेका व्यक्तिलाई हटाउने विषयमा शीर्ष नेताहरूबीच कुरा मिलेको छैन । त्यसकै कारण कस्तो मापदण्ड बनाउने भन्ने निष्कर्षमा कार्यदल पुग्न नसकेको हो । एक नेताका अनुसार शीर्ष नेतासँगै छलफल गरेर मापदण्ड आधार तयार गर्ने कार्यदलको तयारी छ ।

नेकपाले माघ महिनाभित्र संगठनको काम सकेर फागुनदेखि देशव्यापी अभियान चलाउने तयारी गरेको थियो । स्थायी समिति बैठकमा अध्यक्षहरूले यस्तो प्रस्ताव गरेका थिए । तर एकताको प्रस्ताव तयार गर्नै समय लागेपछि यो कार्यक्रम पनि अनिश्चित भएको छ । कान्तिपुरबाट