
माघ ९, सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बुढाले हिन्दु राष्ट्र पुनस्र्थापना आजको आबस्यकता भएकोमा जोड दिनुभएको छ । जनजागरण अभियान अन्तरगत देशभर माघ ७ र ८ गते घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिदै पार्टीका केन्द्रिय सदस्य समेत रहेका बुढाले माघ १३, १४ र १५ गते देशभरका ७ सय, ५३ वटै स्थानिय तहमा हिन्दु राष्ट्र पुनस्र्थापना सम्बन्धि सभाहरुको आयोजना गरिने समेत जानकारी दिनुभयो ।
आगामी फागुन ७ गते संघिय राजधानिमा केन्द्रिय सरकार, प्रदेश स्तरमा सबै प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा राज संस्था सहितको हिन्दु राष्ट्र र जनताका जनजिवीकाका सवालहरु समेटेर ज्ञापन पत्र बुझाई फाल्गुण मसान्त सम्म सरकारलाई अल्टिमेटम दिने पार्टीको योजना रहेको जानकारी दिदै प्रदेश अध्यक्ष बुढाले फागुन १५ गते ताप्लेजुङ्गबाट शुभारम्भ गरि तराइका ३७ जिल्लालाई छुदै महाकालीको कञ्चनपुर पुगि काठमाण्डौ फर्र्किएर मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरिने पनि जानकारी दिनुभयो ।
त्रिरत्ना मिडिया सँग कुराकानी गर्दै कर्णाली प्रदेश अध्यक्ष तथा समृद्ध कर्णालीको अभियानमा निरन्तर क्रियाशिल बुढाले पार्टीले राखेका मागहरुलाई सरकारले सम्बोधन नगरेको खण्डमा आगामि चैत्र १ गतेबाट काठमाण्डौ केन्द्रित आन्दोलनको सुरु गर्ने पनि दाबि गर्नुभयो । किन चाहियो राजसंस्था सहितको हिन्दु राज्य भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रदेश अध्यक्ष बुढाले नेपाल हिन्दु राष्ट्र हो भन्ने विश्वमा नेपालको पहिचान छ, जुन आज मेटिएको छ । जसले गर्दा देशभित्रमा पनि अराजकता, बेभिचार, हत्या, बलात्कार जस्ता घटनाहरु अत्याधिक मात्रामा बृद्धि भएकाछन्, धर्म नहुँदा जे गर्दा पनि हुन्छ भन्ने भावनाको विकास हुँदै गएकोले यसबाट समाज झन्झन् उधोगतिमा जाने, अनुशासन भंग हुने र अन्तत्वगत्वा समाजमा शान्ति कायम नहुने भएकाले हिन्दु राष्ट्र आजको नेपालमा अपरिहार्यता भएको पार्टी र जनताको पनि ठम्याई हो । हामी त्यही अभियानमा छौं, बुढाले भन्नुभयो ।
बुढाले थप्नुभयो राजसंस्थाको कुरा गर्दा हिजोको जस्तो शक्तिशाली राजाको कुरा गरेको होइन, चुनावी राजनीति भन्दा माथि उठेको देशको एकताको प्रतिकका रुपमा त्यस्तो राजसंस्थाको परिकल्ना गरिएको हो । देशमा राष्ट्रपतिय पद्धतिको ब्यबस्था भएपनि राष्ट्रपति निष्पक्ष हुन नसक्ने जिकिर गर्दै दलबाट निर्बाचित निष्पक्ष हुन्छन् भन्ने भ्रममा कोही नहुन पनि उहाँले आग्रह गर्नुभयो ।
देशलाई अप्ठेरो परेको बेलामा देशको पक्षमा नभई आफू निर्बाचित दलको पक्षमा राष्ट्रपति उभिने भन्दै प्रदेश अध्यक्ष बुढाले राजसंस्थाको अपरिहार्यताको महशुस गरिएको बताउनुभयो ।
हिन्दु राष्ट्र र राज संस्था राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्रै माग नभई यो देशका ८१.३ प्रतिशत हिन्दु धर्ममा आश्था राख्ने, ९ प्रतिशत बुद्ध धर्ममा आश्था राख्ने र ३ प्रतिशत किराँत धर्ममा आश्था राख्ने गरि ९४ प्रतिशत ओमकार परिवारमा आबद्ध भएकाले यी सबैको आश्था बिचारको पार्टीले नेतृत्व मात्रै गरेको बुढाको भनाई छ ।
राप्रपाले सर्बधर्म समभावको मान्यतामा विश्वास गर्ने भन्दै प्रदेश अध्यक्ष बुढाले सबै धर्मको बिचमा समानता, सबैलाई बराबरिको स्वतन्त्रता हुनु पर्छ भन्ने मान्यता रहेकोले हिन्दुलाई मात्रै राज्यले बिशेष सहुलियत, सेवा र सुबिधा दिनुपर्छ भन्ने पक्कै होइन ? उहाँले थप्नुभयो देशको पहिचानका निमित्त राजसंस्था सहितको हिन्दु राष्ट्र चाहिन्छ भन्ने हाम्रो माग हो, त्यही नभएर नै आज देशमा दुई तिहाई नजिकको सरकार भएर पनि जनता समक्ष सेवा प्रवाह गर्न असफल भएको छ । बाहिरबाट हेर्दा निकै शक्तिशालि जस्तै सरकार देखिए पनि हरेक क्षेत्रमा असफल भइरहेको ठोकुवा गर्दै जनता माझ आशा दिलाउन नसकेको उहाँको टिप्पणि छ ।



Milan Shrestha । ९ माघ २०७५, बुधबार १२:३८ बजे