नेपाली काँग्रेसको सभापति पदकालागि पुनः मतदान हुँदै


२८ मंसीर, काठमाण्डौं । काठमाण्डौं जारी नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा बहुमत नआएपछि आज पुनः सभापति पदकालागि मतदान हुने भएको छ ।

काँग्रेसको १४औं महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।

पहिलो चरणमा शेरबहादुर देउवाले २२५८ मत डा. शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था रहेको छ ।