समानुपातिक विकासमा सरकार केन्द्रीत छ : मुख्यमन्त्री शाही


माघ ९ , सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको ध्यान सन्तुलित विकास केन्द्रीत भएको बताउनुभएको छ ।

सुर्खेत पश्चिममा अवस्थित चौकुने गाउँपालिका ६ जीवन ज्योति माविको भवन शिलन्यास गर्न आज यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले विकासका हिसाबले सुर्खेत पश्चिम पनि साविकको कर्णाली झैं दुर्गम भएको बताउनुभयो ।

मुलुकमा व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था नबदलिएकाले यसमा सबै सरकार गम्भीर भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।“ठूलो भूगोल ओगटेको कर्णाली प्रदेशको विकासलाई सन्तुलित गर्ने प्रमुख उद्देश्यले यही माघ १४ र १५ गते प्रदेश सरकारले प्रदेश समन्वय परिषद्को पहिलो बैठकको आयोजना गरेको छ,” उहाँले भन्नुभयो, “बैठकबाट यो प्रदेशको विकासको वास्तविक चित्र कोरिन्छ ।

” सरकारले यो प्रदेशको समग्र विकासको गुरुयोजना बनाउने उहाँको भनाई थियो ।

नवजात शिशु अवस्थाको सरकारले जनताका अपेक्षा एकै वर्षमा पुरा गर्न नसक्ने भन्दै यो संघ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र विकास र समृद्धि संभव रहेको उहाँले बताउनुभयो ।

उहाँले बौद्धिक व्यक्तित्वलाई आफ्नो मगज जनताको जीवनस्तर माथि उकास्ने मार्गचित्र तयार गर्ने काममा प्रयोग गर्न आग्रह गर्नुभयो ।

भाषण गरेर, बोलेर, आलोचना र टिकाटिप्पणी गरेर देश नबन्ने भन्दै उहाँले ईमान्दारिता, हिम्मत र श्रममा बाँच्न नागरिकलाई सु्झाव दिनुभयो ।

उहाँले प्रदेश सरकारको रु.३० लाख लागतमा निर्माण हुने जीवन ज्योति माविको भवन शिलन्यास गर्नुका साथै आजै जनजागृति मावि चौकुने ५ सुर्खेतको ४७ औंं स्थापना तथा अभिभावक दिवसको समेत उद्घाटन गर्नुभएको थियो ।

मुख्यमन्त्री शाही त्यहाँ पुगेपछि पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकहरुले सडकको स्तरोन्नति र केन्द्रीय विद्युत प्रसारण लाईनको मागपत्र बुझाएका थिए ।

उहाँले बड्डीचौर–गुटु–बेनीघाटसम्मको सडकको स्तरोन्नति र केन्द्रीय विद्युत प्रसारण लाईन जडानमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

विद्यापुर, बाबियाचौर, पलैटे लगायतका ठाउँमा मुख्यमन्त्री शाहीले स्थानीय जनप्रतिनिधि, कार्यकतासँग पनि भेटघाट गर्नुभएको थियो ।