गणेशद्वारा सहयोगको याचना


१६ माघ । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा बिरामी भएर थला परेपछि कसलाई पो पीडा हुँदैन र ? अहिले त्यस्तै भएको छ दैलेख भैरवी गाउँपालिका वडानम्बर ५ निवासी गणेशबहादुर शाहीलाई ।

अहिले उहाँ मात्र २१ बर्षका हुनुभएको छ । सुरुमा सामान्य रोग होला भन्ने सोँच्नुभएका गणेश त्यति बेला छाँगाबाट खसे झैं हुनुभयो जती खेर उहाँले सुर्खेतमा आएर चेकजाँच गर्नुभयो । डाक्टरले उहाँलाई क्यान्सर भएको पुष्टी गरे पछि उहाँलाई काठमाडौंको सिभिल हस्पिटलमा रिफर गरिदिए ।

गणेशले सुर्खेतमा गतबर्ष २०७४ साल फागुन २२ गते चेकजाँच गर्नुभएको थियो । त्यसपछि काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा फागुन २५ गते भर्ना भई  १ सय ५९ दिन अस्पतालमै उपचार भयो । डाक्टरले २०७५ भदौमा डिस्चार्ज गरे । झण्डै २० लाख खर्च गरेर रोग ठिक भयो भन्दै घर फर्किनुभएका उहाँमा अकस्मात यही बर्षको पुसमा फेरि रोग बल्झिएको छ ।

अहिले गणेश फेरि सिभिल अस्पतालको बेडमा थला पर्नुभएको छ । गत पुस १२ गते भर्ना भएका गणेशको अहिलेसम्म ३ लाख बढी रकम खर्च भइसकेको छ । डाक्टरहरुले अहिले बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनिरहेका छन्, तर त्यसका लागि रकम अभाव भएको गणेशका दाई नेमबहादुरले बताउनुभयो ।

गणेशका दाईका अनुसार बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ देखि ३० लाख रकम आबश्यकता पर्छ । आवश्यक रकम कसरी जुटाएर भाईको उपचार गर्ने भन्ने चिन्ता छ, नेमबहादुरलाई । स्वास्थ्य र गृहमन्त्रालयमा भाईको उपचारका लागि फाइल समेत पेश गरे पनि त्यहाँ कसैले पनि सुनुवाई नगरेको गुनासो नेमबहादुरको छ ।

आफ्नो सानो जागीरले भाईलाई २० लाख जति खर्च गर्न सकेपनि अब आफुसँग कुनै श्रोत नभएको नेमबहादुर बतानुहुन्छ । “सरकारले नेताहरुका लागि करोडौं रकम खर्च गर्छ तर गरिब, दुःखीहरुको लागि केही पनि नगर्ने रहे” नेमबहादुरले भन्नुभयो ।

रकम अभावमा गणेशलाई ब्लड दिनपनि मुस्किल परेको छ । गणेशलाई अघिल्लो पटक ८० पोका रगत दिनु परेको थियो । अहिले ८ पोका रगत दिइसकेको र अब थप ब्लडको पनि आबश्यकता पर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । तर, भएको सबै धन सम्पती सकिएकोले थप उपचार गर्न नसकिएको नेमबहादुर बताउनुभयो । गणेशको उपचारकालागि सहयोगको गर्न सबैसँग आग्रह समेत नेमबहादुरले गर्नुभएको छ ।

सहयोगी मनहरुले सुर्खेत स्थित मीठो सिकाइ फाउन्डेसन ९८६८०९०९६७ अथवा ९८६५०९५५८२ मा सम्पर्क गर्न सकिने बताईएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा सुर्खेतको चर्चित समूह मोटे ग्याङ्ग नेपालले गणेशकालागि सहयोग रकम जुटाउन लागि परेको समूहका एडमिन कुमार सम्सेर थापाले बताउनुभयो ।

मोटे ग्याङ्ग नेपालका सदस्यहरु ज्योती कार्कीबाट रु ५००५।- सिया कार्की प्रधानबाट रु ५००५।- छिरिङ्ग टोव्क्याल बाट रु २५५५।- राजन चालिसेबाट रु २१०५।- अनु गुरुङ्गले रु १५००।- र लक्ष्मी गुरुङ्गबाट रु १०००।- सहयोग रकम जम्मा भएको बताउँदै संकलित रकम एकमुष्ठ काठ्माण्डौं नै गएर हस्तारण गरिने जानकारी एडमिन कुमारले दिनुभयो ।