बिस्नप्रसाद न्यौपाने
कालिकोट, बैशाख ४ । कालिकोट जिल्लामा जनप्रतिनिधिका छोरा छोरी नीजि बिद्यालयबाट निकालेर सरकारी बिद्यालयमा भर्ना गरी बिद्यालय भर्ना अभियान सुरु गरिएको छ । जिल्लाको नरहरीनाथ गाँउपालिकाका वडा नं. १ का वडा सदस्य तथा गाँउपालिका शिक्षा बिभागका सदस्य पंखबहादुर बिष्टले आफ्ना दुइ छोरा छोरीदाई नीजि बिद्यालयबाट झिकेर सरकारी बिद्यालयमा भर्ना गरेका हुन् ।
नरहरीनाथ गाँउपालिका १ स्थित चिल्ड्रेन हृयावन बोर्डिङ स्कुलमा कक्षा ४ मा छोरालाई सोही ठाँउमा रहेको नन्दादेवी माध्यमिक बिद्यायमा कक्षा ६ मा र छोरी शिशुमा भर्ना गरिएको छ । सेभ द चिल्ड्रेन तथा स्थानिय गैरसरकारी संस्था भिडिसेफ नेपाल कालिकोटले नरहरीनाथ गाँउपालिकाबाट सुरुवात गरेको बिद्यालय भर्ना अभियानको सिलसिलामा नरहरीनाथ गाँउपालिका १ का वडा सदस्य पंखबहादुर बिष्टले नीजि बिद्यालयमा पढिरहेका आफ्नो छोराछोरीहरुलाई यसै शैक्षिक सत्रदेखी सरकारी बिद्यालयमा भर्ना गरेका छन् । उनले सामुदायीक बिद्यालयको खस्कीदै गएको शैक्षिक स्तर अभिबृद्धिका लागि आफुले नीजि बिद्यालयमा पढिरहेका छोराछोरीहरुलाई सरकारी बिद्यालयमा भर्ना गरेको बताए । उनले भने, सरकारी बिद्यालयमा छोराछोरी भर्ना गरेर मात्र हुँदैन, बिद्यालयमा नियमित पठन पाठन भए नभएको निगरानी पनी बढाउछौ । शिक्षक, बिद्यार्थीहरुको नियमित उपस्थिति तथा बिद्यालयमा अभिभावहरुको निगरानी बढाउने उनले बताए ।
यस्तै नरहरीनाथ गाँउपालिका १ का कार्यालय सहायक उदयराम बिष्टका छोरालाई पनि उक्त बोर्डिङबाट निकालेर नन्दादेवी माध्यमिक बिद्यालयमा कक्षा ६ मा भर्ना गरिएको छ ।
यस्तै नरहरीनाथ गाँउपालिका वडा नं. ५ रुप्साको जनता माविमा पनि दुई जना बिद्यालय छाडेका बिद्यार्थीहरुलाई भर्ना गरिएको छ । करीव २ बर्षेदेखी बिद्यालय जान छाडेका २ विद्यार्थीलाई कक्षा ९ मा भर्ना गरिएको छ । नरहरीनाथ गाउपालिका अध्यक्ष धिरबहादुर बिष्टले गाँउपालिका भित्रका सबै बिद्यालयमा कार्यरत शिक्षकहरु, कर्मचारी तथा जनप्रतिनिधिहरुका छोराछोरीहरु गाउपालिका भित्रकै सरकारी बिद्यालयमा भर्ना गर्ने औपचारीक निर्णय नै भएको बताए । उनले गाँउपालिकाको निर्णयलाई अटेर गरे गाँउपालिका द्वारा प्रदान गरिने सेवाहरु नदिने तथा उसको गाँउपालिकामा कुनै अभिलेख समेत नराखिने बताए ।



Milan Shrestha । ४ बैशाख २०७५, मंगलवार १५:२४ बजे