सँस्कृति संरक्षण नगरे अस्तित्व समाप्त हुनेः देउडा सम्राट शाही


माघ १६, सुर्खेत ।

देउडा सम्राट नेत्रराज शाहीले भाषा, साहित्य, कला र सँस्कृतिको संरक्षण नगरे अस्तित्व नै समाप्त हुने जिकिर गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हरेक महिनाको १५ र १ गते सञ्चालन हुने देउडाखेलमा सहभागि हुन आएका सम्राट शाहीले भाषा, साहित्य, कला, सँस्कतिको जन्मथलो पनि कर्णाली भएकाले यहाँको सँस्कृतिलाई बचाई राख्न सरकारले पनि लगानि गर्नुपर्नेमा जोड दिदै गीतहरुको जननी देउडा भएकाले यसलाई बचाउने अभियानमा स्थानीयले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कालीकोटको पचालझरना गाउँपालिकाको आयोजना गत बैसाखमा प्रदेश सरकारका मुख्यमन्त्री र पर्यटन मन्त्रिले घोषणा गरेका देउडा सम्राट शाहीले प्रदेश सरकारको सहयोगमा ब्यबस्थित रुपमा देउडा खेललाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिनुभयो । खेलाउडा, खेलाउडी, गायक, गायिक लगायत गीत संगितमा लागेकाहरुलाई हेर्ने दृष्टिकोणमा परिबर्तन ल्याउनु पर्ने भन्दै सम्राट शाहीले आफ्नो फाइदाका लागि मात्रै प्रयोग गर्ने परम्पराको अन्त्य गरि उचित सम्मान दिनुपर्ने धारणा राख्नुभयो ।

१५ गतेको देउडाखेलमा सहभागी कालीकोटका खेलाउडा पुष्पराज आचार्यले कर्णाली प्रदेशमा देउडालाई प्राथमिकता दिनु पर्ने भन्दै यसको संरक्षण र विकासमा सरकारले पनि प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।

प्रदेश नं. ७ को अछामबाट खेलमा सहभागि भएकि खेलाउडी बिमला बुढाले देउडा गीतमा जत्ति अरु गीतमा रहस्य र भाव नभएको भन्दै पुर्खाले अँगालेको परम्परालाई बचाई राख्न आफू लागि परेको बताउनु भयो । बुढाले देउडा सँस्कृति बचाउने अभियानमा सरकारले पनि सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
सोही खेलमा सहभागी कालीकोटका अर्का खेलाउडा बिजयराज सेजुवालले कर्णाली भाषा, सँस्कृतिको जननी भएपनि पछिल्लो समयमा भाषा, सँस्कृति सँगै देउडा पनि लोप हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सोही खेलमा सहभागि कालीकोट जिल्लाकी खेलाउडी कमला धामीले देउडा खेलाउडा, खेलाउडीहरुले पुरानै पोशाक, गहना सहित खेलमा सहभागी हुनु पर्ने भन्दै सँस्कृति बिगार्ने अधिकार कसैसँग नभएको जिकीर गर्नु भयो । हामीले भाषा, सँस्कृति र देउडाको संरक्षण नगरे अरु कसैले गर्दिन्छ भन्दै यो अभियानमा सरकारी निकायबाट पनि सहयोग हुनु पर्ने माग गर्नुभयो ।

देउडा खेल आयोजक संस्थाकी उपाध्यक्ष तथा खेलाउडी सुनसरा शाहीले आफूहरु मिलेर देउडा बचाउने अभियान थालेको भन्दै यस अभियानमा सहयोग नपाएको गुनासो गर्नुभयो । एकल रुपमा सँस्कृति बचाउन नसकिने भन्दै शाहीले कर्णाली प्रदेश सरकारले पनि यहाँको भाषा, सँस्कृति बचाउने अभियानमा सहयोग गर्नुपर्ने माग राख्नुभयो ।

कालीकोटकी खेलाउडी बलु शाहीले गाउँगाउँमा देउडा खेल चम्किने पुराना दिन हराउन लागेकोमा चिन्ता ब्यक्त गर्दै देउडाको संरक्षणमा सबै लाग्नु पर्ने सुझाव दिनुभयो । अर्का जुम्लाका खेलाउडा मनीकृष्ण उपाध्यायले भाषा र सँस्कृतिको जन्म थलोमा पनि खस भाषा र देउडा हराउन लागेकोमा चिन्ता ब्यक्त गर्दै प्रदेश सरकारको लगानीमा भाषा र सँस्कृति बचाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

मध्यपश्चिमाञ्चल विश्वबिद्यालयका प्राध्यापक तथा देउडा खेलाउडा लक्ष्मण सिंहले हाम्रो गौरब भाषा र सँस्कृतिलाई बिर्सन नहुने भन्दै पश्चिमा छाडा गीत संगितका पछि नलाग्न यूवा पंक्तिलाई आग्रह गर्नुभयो ।

लेखक कृष्णराज धमालाले प्रदेश सरकारले स्थानिय पाठ्यक्रममै खसभाषा र देउडालाई समेट्नु पर्ने माग गर्दै आफ्नो भाषा बोल्दा लाज मान्ने प्रबृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । खेल खेल्ने र खेल हेर्नेहरुले देउडा बचाउने अभियानमा सरकारी निकाय नै लाग्नु पर्ने सुझाव दिएका छन् ।