जनजाति महासंघ कर्णाली महोत्सवमा सहभागी नहुने


२५ माघ, सुर्खेत । आउँदो फागुन ३ गते देखि ११ गते सम्म सुर्खेत चेम्वर अफ कमर्सको आयोजनामा वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली महोत्सवमा नेपाल आदिवासी जनजाती महासंघको सहभागिता नहुने भएको छ ।

आज (शुक्रबार) महासंघमा आवद्ध १३ जातिय संस्थाहरुको संयुक्त हस्ताक्षर गर्दै विज्ञप्ती मार्फत महासंघमा महोत्सवमा आवद्व नहुने जनाएका हुन् ।

आदिवासी जनजातीहरुका विभिन्न मागहरुलाई स्थानीय निकाय देखि केन्द्र सरकारले समेत वेवास्ता गरेको र स्थानीय  निकायका विभिन्न संघसंस्थाहरुले संचालन गर्ने कार्यक्रमहरुमा समेत आवद्ध नगराई असहयोग गरेका लागेका कारण कर्णाली महोत्सवमा सहभागि नहुने महासंघमा आवद्व नेपाल मगर संघ, थारु कल्यायकारी सभा, तमु हयूल धोज धी, नेवा देय् दबु जिल्ला, राजी साल्म समाज, नेपाल कुमाल सुधार समाज, खाम्पा समाज, नेपाल भोटे सेवा समितिले संयुक्त विज्ञप्ती जारी गर्दै महोत्सवमा सहभागी नहुने जनाएका हुन् ।

यसअघि सुर्खेत स्थित राजनैतिक दल, सुर्खेत उद्योग वाणिज्य संघ, आदीवासी जनजाती महासंघ, गैर सरकारी संस्था महासंघ, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान लगाएतले महोत्सवको सफलताकालागि प्रतिवद्वता व्यक्त गरेका थिए ।