वीरेन्द्रनगर, २१ बैशाख । वीरेन्द्रनगर नगरपालिकामा गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा र ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार हुने भएको छ ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएमा यी सेवा सञ्चालन गरिने भएका हुन् । नेपाली कांग्रेसले चुनावी वाचापत्रमार्फत स्वास्थ्य तर्फ १२ बुंदे एजेण्डा तयार गरेको छ ।
एजेण्डामार्फत स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा उपलब्ध गराउने जनाएको हो ।
वीरेन्द्रनगरका विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्नुका साथै नागरिकलाई घर आगनमै सेवा प्रवाह गर्नका लागि मासिक रुपमा हरेक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
कांग्रेस उम्मेदवार निर्वाचित भएपश्चात अस्पताल, स्वास्थ्य संस्थासम्म आउन नसक्नेका लागि होम केयरको व्यवस्था गरिने बताइएको छ । नगरले नीजि क्षेत्रसँग सहकार्य गरी घरमै उपचार गर्न होम केयरको धारणा ल्याएको हो ।
खोप केन्द्र गाउँघर किल्निक लगायत समुदायमा आधारित सेवालाई प्रभावकारी बनाउँदै स्वयम्सेवीकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीलाई १ हजार नगदसहित ‘सुत्केरी सहायता भत्ता’ दिइने नीति कांग्रसले लिने भएको छ ।
यसैगरी, महिला स्वास्थ्य स्वयम्सेवीकाको घरलाई सरसफाई र प्राथमिक उपचार केन्द्रको रुपमा विकास गरि आफ्नो सेवा क्षेत्रभित्रका नागरिकलाई मौसम अनुसार लाग्ने स्वास्थ्य शिषा महिनामा एक पटक दिने व्यवस्था मिलाउनुका साथै यसवापत खाजा खर्च स्वरुप मासिक ५ सय रुपैयाँ थप उपलब्ध गराउने कांग्रेसले प्रतिवद्धता जनाएको छ ।
वीरेन्द्रनगरका नागरिकको निशुल्क स्वास्थ्य उपचारका लागि नगरलाई ‘पूर्ण स्वास्थ्य वीमित’ बनाउने, ब्लड बैंकको स्थापना र सञ्चालन गर्ने, विद्यालय तहदेखि योग कक्षा सञ्चालन गर्ने तथा मनोसामाजिक विमर्सकर्ताको व्यवस्था गर्ने लगायतका योजना कार्यान्वयनमा ल्याउने कांग्रेसले जनाएको छ ।



Suresh Acharya । २२ बैशाख २०७९, बिहीबार १०:५७ बजे