महिला भलिवल प्रतियोगितामा प्रथम हुने खेलाडीलाई गृह जिल्लामा सम्मान



फागुन ६, कालीकोट ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न पहिलो मुख्यमन्त्री कप रनिङ्ग शिल्ड अन्तरगत महिला भलिबल प्रतियोगितामा प्रथम हुन सफल कालीकोटका खेलाडीहरुलाई गृह जिल्लामा सम्मान गरिएको छ ।

महिला तर्फको प्रतियोगितामा कालीकोटले रुकुमलाई ३÷० को सोझो सेटमा हराउँदै प्रथम स्थान प्राप्त गरि जिल्ला फर्किएका खेलाडीहरुलाई गृह जिल्लामा सम्मान तथा स्वागत गरिएको हो ।

गृह जिल्ला पुगेका खेलाडीहरुलाई संविधान सभा सदस्य माननीय तुलाराज विष्ट, पूर्व नेकपा एमाले जिल्ला उपाध्यक्ष रमेश शाही, नेपाली कांग्रेस जिल्ला सहसचिव दमन शाहीले लगायतकाले सम्मान तथा स्थागत गरेका हुन् । खेलाडीहरुलाई सम्मान गर्दै संविधान सभा सदस्य तुलाराज विष्टले खेलकूद क्षेत्रको बिकासले कालीकोटको पहिचान दिलाएकोमा खुसी ब्यक्त गर्दै कालीकोटका खोलाडीहरु प्रदेश स्तरिय प्रतियोगितामा प्रथम हुँदा आफू पनि गौरबान्दित भएको बताउनु भयो । यो उचाईलाई निरन्तरता दिन आग्रह गर्दै बिष्टले खेलाडीहरुको हितमा सरकारले पनि साथ दिनुपर्ने सुझाव दिनुभयो ।

खेलाडीहरुलाई सम्मान गर्दै नेपाली कांग्रेसका सहसचिव दमन शाहीले आफू र आफ्नो पार्टी सँधै खेलाडीहरुको हितमा क्रियाशिल रहेको भन्दै यो जीत सँगै सुरुवात भएकाले आगामी दिनमा पनि यस्तै जीत हाँसील गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका प्रशिक्षक जीवन शाहीले भलिवल खेलमा कालीकोटको नाम उच्च राख्ने प्रतिबद्धता जनाउँदै आफुले प्रशिक्षण दिएका खेलाडीहरुले यत्ति राम्रो खेल प्रदर्शन गरि बिजयी हुँदा खुसि भएको बताउनु भयो । राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भएकाले खेल क्षेत्रलाई धमिलो हुन आफू नदिने बचन गर्दै खेलकुदमा राजनीतिक रङ्ग नमिसाउन पनि आग्रह गर्नुभयो ।