जुम्लाका विजयी खेलाडीहरु सम्मानित


१३ फागुन, सुर्खेत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले फुटबल तथा एथ्लेटिक्समा प्रथम तथा द्वितिय हुने जुम्लाका खेलाडीलाई सम्मान गर्नुभएको छ । फागुन ११ गतेदेखि सुर्खेतमा जारी ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकुद प्रतियोगिता २०७५ मा महिला फुटबल, पुरुष तथा महिला एथ्लेटिक्स तर्फ प्रथम, द्वितिय स्थान हात पार्ने लगायत प्रतियोगितामा भाग लिएका खेलाडी, प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समिति परिवारलाई नेपाल पत्रकार महासंघ सुर्खेतको हलमा चियापान तथा सम्मान कार्यक्रमको आयोजनागरी केन्द्रीय सदस्य चौलागाईंले खादा ओढाएर सम्मान गर्नुभएको हो ।

उहाँले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा जुम्लाले फुटबलमा पहिलो स्थान हातपार्ने महिला खेलाडी, एथ्लेटिक्स पुरुष तर्फ १५ सय दौड प्रतियोगितामा प्रथम हुने जुम्लाका नरेश बुढा एथ्लेटिक्स महिलातर्फ १५ सय दौडमा प्रथम हुने जुम्लाका राममाया बुढा र द्वितिय हुने जुम्लाकै सीता न्यौपानेलाई खादाले सम्मान गर्नुभएको थियो ।

खेलमा विजयी तथा सहभागी सबै खेलाडीहरुलाई सम्मान गर्दै केन्द्रीय सदस्य चौलागाईले खेलजगतमै  दिलोज्यान दिएर लागेका खेलाडीहरुको मनोबल उच्च बनाउन र हौसला बढाउन व्यक्तिगतरुपमा सम्मानको कार्यक्रम राखेको बताउनुभयो । खेलाडीहरुले राष्ट्रको नाम उँचो राखेको बताउँदै उहाँले देशका गहनाहरुलाई उचित सम्मान र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रमुख शुरबहादुर सिंहले कर्णालीले खेलजगतमा सिंगो मुलुकको नेतृत्व गर्ने हैसियत राख्नुपर्नेमा जोड दिनुभयो । “कर्णाली सबैखाले खेलको संभाव्य भूमि हो,” उहाँले भन्नुभयो, “यसको विकास र प्रवर्धनमा राज्यले प्राथमिकता दिनुपर्दछ ।” कर्णालीलाई खेल पर्यटनका रुपमा विकास गर्दै लैजान सरोकारवालाहरु सबैले लाग्नुपर्ने उहाँको भनाई थियो ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले खेलाडीहरुलाई सम्मान गरेर उर्जा दिनुभएको भन्दै महासंघका केन्द्रीय सदस्य चौलागाईप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो । खेल क्षेत्रको विकासमा आफू निरन्तर लागिरहेको उहाँको भनाई थियो ।

एथ्लेटिक्स प्रशिक्षक तथा अन्तराष्ट्रिय म्याराथुन धावक हरिबहादुर रोकायाले खेलाडीहरुले भोको पेटमा दौड्नुपर्ने विवशता रहेको दुखेसो गर्नुभयो । राज्य नै खेलाडीहरुको अभिभावक नबन्दा प्रशिक्षण दिन र खेलाडी जन्माउन कठिन भएको उहाँले बताउनुभयो । कर्णालीको पातारासीस्थित लौठचौरमा अन्तर्राष्ट्रियस्तरको हाई अल्टिच्यूड निर्माणको कार्य जतिसक्दो चाँडो अघि बढाईए स्वदेशी विदेशी खेलाडीहरु कर्णालीमा भित्रिने उहाँले जिकिर गर्नुभयो ।

सम्मान कार्यक्रममा गैरसरकारी संस्था महासंघ, कर्णाली प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, पूर्व खेलाडी कृष्णबहादुर रोकाया, जिल्ला खेलकुद विकास समिति सुर्खेतका प्रतिनिधि कविदत्त न्यौपाने, लेखक रामसिंह रावल र कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीलगायतको सहभागिता रहेको थियो ।