१ चैत्र, सुर्खेत । पश्चिम सुर्खेतको शैक्षिक केन्द्र विद्यापुरको जनता माध्यमिक विद्यालयमा शुरु भएको शैक्षिक एवम् धार्मिक महोत्सव सम्पन्न भएको छ । फागुन २४ गतेबाट शुरु भएको महोत्सव चैत्र १ गते (आज) सम्म सञ्चालन भएको थियो ।
महोत्सवबाट करिव १ करोड ४० लाख रकम संकलन भएको महोत्सव मुल आयोजक समितिका सचिव कमलकृष्ण पौड्यालले जानकारी दिनुभयो । संकलित रकमको पूर्ण आर्थिक विवरण आउन भने केही समय लाग्ने मुल आयोजक समिति सल्लाहकार समितिका संयोजक हेमप्रकाश भुसालले जानकारी दिनुभयो ।
महोत्सवलाई समापन गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले आव २०७६/०७७ को सभाबाट पारित गरेर प्राविधिक शिक्षालयलाई रु ३५ लाख दिने घोषणा गर्नुभएको आयोजकले जनाएको छ । पश्चिम सुर्खेतको शैक्षिक केन्द्र विद्यापुरको जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय सञ्चालनका लागि शैक्षिक एवम् धार्मिक महोत्सव शुरु गरेको थियो ।
महोत्सवमा अन्तर्राष्ट्रिय भागवत प्रवक्ता पुज्य श्री किशोरशरण महाराज प्रमुख वाचक हुनुहुन्थ्यो । यसैगरी संगीताचार्य शिशिर साधक सहितको कलाकारको टोलीले महोत्सवलाई संगीतमय बनाएको थियो । महोत्सवमा पञ्चपुरी नगरपालिका लगायत अन्य छिमेकी पालिका र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।



Milan Shrestha । १ चैत्र २०७५, शुक्रबार २१:४४ बजे