नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलो उपलब्धिका रूपमा अर्थ्याएको छ।
ओली सो समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई चन्दका विश्वासपात्र पनि मानिन्छ।
ओलीलाई पक्राउ गर्दा प्रहरीले गोप्य दस्ताबेज हात पारेका दाबी गरेको छ। उसले यसलाई सो समूहविरुद्धको कारबाहीमा एउटा ठूलो सफलताको रूपमा पनि प्रस्तुत गरेको छ।
“हामीले हात पारेको दस्ताबेजमा निकै महत्त्वपूर्ण सूचना र रणनीतिबारे चर्चा गरिएको छ,” उक्त कारबाहीमा संलग्न एक प्रहरी अधिकारीले बीबीसीलाई बताए।
नाम उल्लेख गर्न नचाहने ती अधिकारी भन्छन्, “त्यसमाथि भूमिगत भइसकेको अवस्थामा क्षेत्रीय कमान्डरनै पक्राउ पर्नु आफैँमा ठूलो उपलब्धि हो।”
प्रहरीले सो समूहका नेता तथा कार्यकर्ताले प्रयोग गरेका ल्यापटप, मोबाइल फोन र अन्य सामग्री पनि जफत गरेको छ।
चन्द समूहका नेताहरूबाट यसबारे कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
काभ्रेबाट पक्राउ
प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले ओली र अन्य नेतालाई काभ्रेको खनीखोला गाउँपालिका बाट पक्राउ गरेको हो।
गत हप्ता काभ्रेकै रोशी गाउँपालिकामा चन्द समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो।
घटनालगत्तै पक्राउ परेका चार कार्यकर्ताले दिएको बयान र अन्य सूचनाका आधारमा ओली लगायतका कार्यकर्ताहरूको खोजीकार्य भएको थियो।
सरकारले चन्द समूहलाई आपराधिक सङ्गठन ठहर गर्दै उक्त पार्टीका क्रियाकलापमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उक्त पार्टीका नेता एवम् कार्यकर्तामाथि कडा निगरानी थालेको थियो।
मुद्दा चलाउने तयारी
हालसम्म उक्त समूहका करिब २० जना पक्राउ परिसकेका र आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका चन्द पक्राउ नपर्दासम्म आफूहरूको सक्रियता नघट्ने प्रहरी अधिकारीहरू बताउँछन्।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार प्रहरीले ओली र पक्राउ परेका अन्य कार्यकर्ताको हकमा उनीहरूले गरेको अपराधका आधारमा मुद्दा चलाउने तयारी थालेको छ।
उनी भन्छन्, “पक्राउ पर्नेमध्ये केही ललितपुरमा भएको बम विस्फोटमा मुछिएका छन् भने कोही हातहतियार र विस्फोटक पदार्थ सहित पक्राउ परेका छन्।”
केहीलाई जबर्जस्ती चन्दा मागेको उजुरीका आधारमा पक्राउ गरिएको छ जस कारण उनीहरूलाई फरकफरक मुद्दा दायर गरिनेछ,” सुवेदीले भने।
चन्द कहाँ छन्?
सरकारले नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव उपनामबाट परिचित चन्दको समेत खोजी कार्यलाई तीव्र बनाएको छ।
चन्द समूहका कार्यकर्ता खोज्न केही दिनअघि नेपाली सेना पनि सम्मिलितिन सुरक्षाटोली कालीकोट गएको विवरण सार्वजनिक भएको थियो।
तर भूमिगत नेता चन्द पछिल्ला दिनमा नेपालमा नै नरहेको प्रहरीको अनुमान छ।
“हामीकहाँ उनी भारतमा रहेको सूचना छ,” एक विश्वस्त प्रहरीस्रोतको दाबी छ।
प्रहरी प्रवक्ता सुवेदीले पनि भने आफूहरूसँग भएको सूचनाका आधारमा खोजिभइरहेको जानकारी दिए।
अरू नेताहरू पनि सम्पर्कविहीन
सरकारले निगरानी बढाएकाले चन्द समूहका शीर्ष नेता एवम् कार्यकर्ताहरू सम्पर्कविहीन भएका छन्।
केही दिनअघि बीबीसी नेपालीलाई उक्त समूहका एक नेताले सुरक्षाका कारण मोबाइल फोनबाट सम्पर्क गर्न सकिने अवस्था नरहेको बताएका थिए।
बीबीसीनेपाल सेवाबाट




Milan Shrestha । १० चैत्र २०७५, आईतवार १६:५९ बजे