लोपोन्मुख काली मार्सी संरक्षणमा


अविरल ढकाल, जुम्ला
चैत्र १६
विश्वको अग्लो स्थानमा धान फल्ने कालो मार्सी धानलाई पुन संरक्षण गर्नको लागि यो वर्षबाट लगाउने भएको छ । लोप हुदै गएको कालो मार्सी धानलाई पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा एक दशक पछि कालो मार्सी धान रोप्न योजना तय भएको हो ।

धान रोप्ने सिजनमा यार्स टिप्न पाटनमा जाने भएकोले खेतियोग्य जमिन बाँझै हुने गरेको थियो । धानखेतिबाट मेहनत गर्नुपर्ने तर उत्पादन कम हुने भएको भन्दै पछिल्लो समयमा स्थानीयले यो धान रोप्न छोडेका थिए ।

यो धानको खेति हेर्नकै लागि आउने आन्तरिक तथा वाहृय पर्यटक रित्तो हात फर्कन थालेपछि यसपटक देखि ज्युलोमा धान रोप्न शुरु गरिएको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख लक्षिराम महतले बताउनुभयो । उहाँका अनुसार अबको केहि समयमै छुमचौर ज्युलोमा काली मार्सी धान फलाउने तयारी भईरहेको छ ।

कर्णाली कला केन्द्र जुम्लाको समन्वयमा गाउँपालिका कृषि शाखाले धानखेतिको उर्वर भुमिको रुपमा अघि बढाउने योजना बनाएको छ ।

ज्युलोमा धान रोप्नकै लागि तिर्खु ज्युलो र चौर ज्युलोवाट विउ छनौट गरी २ क्वीनटल धानको विउ भिजाई सकिएको छ । छुम ज्युलोमा ७० पाथी, चौर ज्युलोको लागि ३० पाथी धानको विउ उमारिएको  छ । यो पटक ३ सय मुरीखेतमा काली मार्सी धान रोप्ने गरी तयारी गरिएको कृषि प्रमुख महतले जानकारी दिनुभयो ।

जेठ पहिलो साता पत्रकार, चर्चित कलाकारलाई छुमचौर ज्युलोमा भेला गराएर कृषि पर्यटन पवर्द्धनको सन्देश फैलाउने योजना समेत रहेको छ ।

त्यस्तै पातारासी गाउँपालिकाले छुमचौर ज्युलोलाई पर्यटन आकर्षणको केन्द्र बनाउनको लागि पनि धान रोप्ने प्रचलनलाई प्रथामिकताका साथ अघि बढाएको छ । स्थानीयले छुमचौर ज्युलोलाई नयाँ तरिकाले धान रोपेर नमुना उदाहरण देखाउन बताएका छन् ।

ज्युलोमा धान नरोपिदा काली मार्सी धान संकटमा परेको भन्दै काली मार्सी धान फलाउनको लागि किसानलाई प्रेरित गरेको कृषि शाखा प्रमुख महतले बताउनुभयो ।

यो धान विषेश गरेर करिव ३ हजार मिटर अग्लो स्थानमा धान फल्ने गर्छ । पाटनमा यार्सको सिजनमा गाउँमा बसेका किसानलाई धानको संरक्षणमा जोड दिन लगाईने गाउँपालिकाले तयारी गरेको छ ।