रेडक्रसको कार्य समाजसेवामा लाग्न प्रेरितः प्रदेश प्रमुख खनाल


१० चैत्र, सुर्खेत । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले रेडक्रस सोसाइटिको जन्म विशुद्ध मानवीय सेवाको उद्धेश्यले भएको बताउनुभएको छ । प्रदेश रेडक्रस सोसाइटीको प्रदेश कार्यालय उदघाटन गर्दै प्रदेश प्रमुख खनालले यस्तो बताउनुभएको हो ।

प्रमुख खनालले युद्धमा पीडित नरनारीहरुलाइ राहत दिन जन्म भएको रेडक्रस उसले मानवीय सेवामा पुर्‍याएको योगदानका कारण विश्वमा सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको संयुक्त राष्ट्र संघ पछिको दोश्रो अन्तर्राष्ट्रिय संस्थाको रुपमा स्थापित भएको समेत उल्लेख गर्नुभयो । युरोप र अस्ताचलमा पुग्न लागेको एसियाको युद्धमा ‘बाल्कन सी’ मा लड्ने सिपाहि र युद्धका घाइते सर्वसाधारणलाई राहत दिन हेनरी ड्युनाले रेडक्रसको जन्म दिएको समेत खनालले बताउनुभयो ।

संस्थाको जन्म हुँदा मेडिकल ग्राउण्डमा मात्रै सेवा दिँदै आएकोमा क्रमश संस्थाले अन्य क्षेत्रमा समेत सेवा दिन थाले पछि समाज सेवामा लाग्नेहरु यसप्रति आकर्षित भएर यसले विशाल संस्थाको रुप लिन पुगेको प्रदेश प्रमुखले बताउँदै उहाँले प्राकृतिक प्रकोपका बेला यसले महत्वपूर्ण सेवा दिँदै आएको र समाजसेवामा लाग्न यसले प्रेरित गर्ने गरेको उल्लेख गर्नुभयो ।

मानव सेवामा गौरवमय इतिहास बनाएको रेडक्रसले कर्णाली प्रदेश जस्तो पिछडिएको क्षेत्रमा आइपर्ने प्राकृतिक तथा मानवीय प्रकोपलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने खनालको भनाइ थियो ।

कर्णाली प्रदेशका संयोजक तिलक मल्लको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा संविधान सभाका सदस्य ललितजङ्ग शाही र केन्द्रीय सदस्य अजित शर्माले संघिय संरचना अनुसार प्रदेश कार्याय स्थापना गरिएको र हिजो आँखा अस्पताल बनाउँदा जसरी सहयोगी हातहरु जुटेर भवन तयार भयो त्यसैगरि प्रदेश कार्यालय स्थापना गर्ने कुरामा आँफूहरु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।