उत्पादनको योजना नबनाई समृद्धि हाँसिल हुदैनः मुख्यमन्त्री शाही


पौष ११, रुकुम  ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आर्थिक समृद्धिका लागि उत्पादनको योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा आज (बुधवार) चौरजहारीमा सम्पन्न सर्वपक्षिय अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आर्थिक समृद्धि हाँशील गर्न हरेक स्थानीय तहले उत्पादनको योजना निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
हरेक नागरिकले कुनै न कुनै व्यवसायीक उत्पादनको थालनी गर्नुपर्ने भन्दै मुख्यमन्त्री शाहीले उत्पादन विना आर्थिक समृद्धि हाँसिल नहुने बताउनुभयो । अर्गानिक कृषिजन्य वस्तुको विश्ववजारमा ठुलो माग रहेको बताउदै उहाँले व्यवसायिक कृषिको विकासले मात्रै पनि मुलुक आर्थिक रुपले आत्मनिर्भर हुनसक्ने बताउनुभयो ।
‘विकासको दायित्व राज्यको हो, सडक, पुल, सिंचाई, खानेपानी लगायतका भौतिक पुर्वाधारको विकास राज्यले गर्छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘तपाईहरु सवैजना उत्पादनको योजना बनाएर कार्यान्वयनमा लाग्नुहोस ।’ चाउचाउ बोकाएर ट्रक भित्र्याउने र रित्तै फर्काउने स्थितिले जनताको जिवनमा विपन्नता मात्रै आउने बताउदै उहाँले ट्रकका ट्रक स्थानीय उत्पादनले भरेर बजारमा पठाउनुपर्ने बताउनुभयो ।
उत्पादनका विकास र वजारीकरणका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री शाहीले मागको आधारमा उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहीले चौरजहारीले कर्णाली प्रदेशको आर्थिक केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । कृषि तथा जडीवुटीजन्य उद्योगको राम्रो सम्भावना रहेको भन्दै उहाँले चौरजहारीलाई औद्योगिक शहरको रुपमा विकास गरिने बताउँदै उहाँले सल्लीवजार चौरजहारी सडकको स्तरोन्नति र कालोपत्रेका लागि प्रदेश सरकारले ६ करोड वजेट विनियोजन गरिएको र कार्यप्रगतिको आधारमा वजेट थप गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आज विहान चौरजहारीको लहरेसिमलमा रहेको लहरेसिमल दुग्ध उत्पादन फर्मको अवलोकन गर्नुभएका मुख्यमन्त्री शाहीले चौरजहारी नगरपालिका कृषि उत्पादनका लागि उपयुक्त रहेको बताउनुभयो ।
कार्यक्रममा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले चौरजहारी नगरपालिका भित्रका कृषि योग्य जमिनमा सिंचाई प्रवन्ध गर्न आफु लागिपरेको बताउँदै चौरजहारीको खाद्यान्न उत्पादनले सिंगै कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर वनाउने र व्यवसायिक कृषिको विकासका लागि मन्त्रालय आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।